कृषि
चितवनको कृषि विश्वविद्यालयले गर्यो न्युन प्रजनन मौसममा पनि भैँसीमा सफल गर्भाधान

प्रतिमा कुमाल
चितवन, असोज ४–
भरतपुरको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले न्युन प्रजनन क्षमताको मौसममा समेत भैँसीमा गर्भाधान गराउन सफल भएको छ । विश्वविद्यालय अन्तरगतको पशु प्रजनन प्रविधि विभाग, अनुसन्धान तथा प्रसार निर्देशनालय एवं विभिन्न निकायको आर्थिक सहयोगमा भैँसीमा प्रतिकुल समयमा गर्भाधान गराउने (बाली लगाउने) प्रविधिको विकास भएको हो ।
पहिलो चरणको अनुसन्धानका आधारमा गर्भाधान हुने अनुकुल र प्रतिकुल मौसम बीचको अवधिमा गरिएको परीक्षणको नतिजा ४८.९ प्रतिशत सकारात्मक आएको छ । यस्तै बाली नजाने मौसममा भैँसीमा गरिएको परीक्षणमा ४५.५ प्रतिशत र बाली जाने मौसममा भैँसीमा गरिएको परीक्षणमा ५५.६ प्रतिशतमा कृतिम प्रजनन सफलतापूर्वक भएको अनुसान्धानले देखाएको हो । यस अनुसन्धानको नेतृत्व सम्हाल्नुभएका विश्वविद्यालय अन्तरगतको पशु प्रजनन प्रविधि विभागका प्रध्यापक डा. भुूमिनन्द देवकोटाले थारो तथा बाझो बसेको भैसीहरुमा कृतिम प्रजनन प्रविधिको परीक्षण गरिएको जानकारी दिनुभयो ।
साउन देखि मंसिरसम्म भैँसीहरुको बाली जाने मौसम हो । चैत देखि असारसम्म बाली जान गाह्रो हुने मौसम हो । बीचको पुस देखि फाल्गुनसम्म बाली जाने र नजाने मौसमको अवधि हो । चैत देखि असार महिनासम्म भैँसीको प्रजनन क्षेमतामा निक्कै ह्रास आउछ ।
पहिलो चरणमा विभागले आफ्नै फार्म, जिल्लाका भैँसीपालक किसानहरुको गोठ–गोठमा गएर कृतिम प्रजनन प्रविधिको प्रयोग गरी यो नतिजा प्रमाणीकरण गरेको हो । यस्तै भौगोलिक हिसाबले पहाडी क्षेत्रमा गएर पनि भैँसीमा कृतिम प्रजनन प्रविधिको परीक्षण गरिएको प्रा.डा.देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भौगोलिक हिसाबले पनि यसलाई प्रमाणित गर्न पोखरामा अवस्थित आफ्नै पशु विकास फार्म, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत सुनसरीमा रहेको भैँसी अनुसन्धान कार्यक्रमको फार्ममा हामीले काम ग¥यौं ।’
पोखरा, सुनसरी, चितवनमा गरेको अनुसन्धानको नतिजा लगभग उस्तै रहेको उहाँको भनाइ छ । यस अनुसन्धानको दोस्रो चरणको नतिजा भने आउन बाँकी छ । न्युन प्रजनन क्षमताको मौसममा भैँसीलाई कसरी बाली लगाउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर विश्वविद्यालय तर्फबाट देवकोटा नेतृत्वको टोलीले प्रविधिको विकासको क्षेत्रमा काम गरिरहेका छ । यस प्रविधिको प्रयोगले अबका दिनमा जुनसुकै समयमा बाली लगाउन सक्ने तथा भैँसी थारो, बाँझो बस्ने समस्याबाट किसानले छुटकारा पाउने प्रा.डा. देवकोटाले बताउनुभयो। यो प्रविधि किसानको हातसम्म पुग्न एकदेखि दुई वर्ष लाग्ने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, ‘एक चरणमा हामीले प्रमाणित गरिसकेका छौं । यो प्रविधि अहिले सोझै किसानले प्रयोग गर्न सक्नुहुन्न । अहिले दोस्रो चरणको किसानको गोठमा परीक्षण भैरहेको छ । त्यसको नतिजाको आधारमा यो प्रविधिलाई प्रत्येक किसानले आफ्नो गोठमा प्रयोग गर्न सक्नुहुन्छ । तर, सर्वप्रथम प्राविधिक व्यक्तिनै चाहिन्छ । प्रविधि, साधन, कसरी प्रयोग गर्ने ज्ञान भयो भने मात्र यो प्रविधि हामीले किसानलाई हस्तान्तरण गर्न सक्छौं । १–२ वर्ष अझै मेहनत गर्नुपर्छ ।’
साथै यस प्रकृयामा प्रयोग हुने प्रविधि र साधन यहिँ उत्पादन गरिरहेको प्रा.डा देवकोटाले बताउनुभयो। ‘प्रविधि प्रयोग गर्ने कुराहरुमा हामीले जे–जे साधन प्रयोग गर्छौँ कतिपय साधन विदेशबाट आयात गर्नुपर्ने छन्। विशेष गरेर हर्मोन जापान तथा अष्ट्रालियाबाट आउँछ । जुन एकदमै महँगो छ । आयात हुने यी कुराहरुलाई आफ्नै ठाउँमा उत्पादन गर्ने काम हामीले सँगै गरिरहका छौँ।’ उहाँले भन्नुभयो। अन्य पशु, वस्तुमा भन्दा भैँसीमा बाँझो र थारो बस्ने समस्या धेरै देखिन्छ । यसलाई मध्यनजर गर्दै भैँसी प्रजननको क्षेत्रमा हालको विश्वविद्यालयले सन् २००७ सालदेखि २०१४ सम्म आधारभूत जानकारी हासिल गर्ने काम गरेको थियो। सन् २०१४ देखि यता प्रविधिको विकास, साधन उत्पादन, परीक्षणको काममा लागि रहेको छ । नेपालमा धेरै जसो भारतबाट आएको मुर्रा जातको भैँसीपालन हुने भएकाले कृतिम प्रजननको परीक्षण मुर्रा मै गरिएको छ ।

























