चितवन विशेष

१० करोडको दाबी कपोलकल्पितः पूर्वकर्मचारीका आरोपबारे केशवराज कँडेलले भनेः प्रमाणले सबै बोल्छ

Banner

चितवन, असार २९-

चितवनका व्यवसायी केशवराज कँडेलले आफ्ना पूर्वकर्मचारी दीपक राज कँडेलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका आरोपहरू पूर्ण रूपमा आधारहीन, तथ्यहीन तथा आफ्नो र कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले लगाइएको बताएका छन । सोमबार जारी प्रेस विज्ञप्तिमार्फत कँडेलले तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा विषयको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
विज्ञप्तिअनुसार दीपक राज कँडेल २०७८ साल फागुनसम्म ३९ महिनासम्म कम्पनीमा कार्यरत थिए । उनले २०७८ साल चैत २५ गते कम्पनीसमक्ष पेश गरेको लिखित विवरणमा तलब तथा अन्य दायित्वबापत कम्पनीले आफूलाई रु. ६६ लाख ७२ हजार ७८९ भुक्तानी गर्नुपर्ने उल्लेख गरेका थिए । सोही दिन कम्पनीले उनलाई रु. ७ लाखको चेक उपलब्ध गराएको र त्यसपछि रु. ५९ लाख ७२ हजार ७८९ बाँकी रहेको विवरणमा उल्लेख गरिएको केशवराजले जनाएका छन ।

उनकका अनुसार नाताले भतिजसमेत पर्ने दीपकको आग्रहमा प्राइम बैंकबाट आफ्नो कम्पनी ऋणी हुने गरी एक एक्साभेटर (बा २ क ३३९२) र एक टिप्पर (बा १ प ९६६८) खरिद गरिएको थियो । ती सवारीसाधनको साँवा तथा ब्याजसहित एक्साभेटरतर्फ रु. ८३ लाख ५७ हजार ८६० र टिप्परतर्फ रु. ३६ लाख ६९ हजार ६८८ गरी कुल रु. १ करोड २० लाख २७ हजार ५४८ कम्पनीले बैंकमा भुक्तानी गरिसकेको केशवराजले बताएका छन ।

उनले हालसम्म ती दुवै सवारीसाधन कम्पनी तथा बैंककै नाममा दर्ता रहे पनि दीपककै प्रयोगमा रहेको, उनले कुनै किस्ता नतिरेको तथा कम्पनीको सम्पत्ति फिर्ता नगरेकाले फिर्ताका लागि प्रहरीमा निवेदन दिइसकेको बताएका छन् । कम्पनीको सम्पत्ति फिर्ता गरी प्रयोगबापतको हिसाब मिलाउन दीपक तयार भए आफू र आफ्नो कम्पनी सत्यतथ्य कागजातका आधारमा हिसाब मिलाउन पूर्ण रूपमा तयार रहेको कँडेलले स्पष्ट पारेका छन् ।

प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा आफूले दीपकलाई रु. १० करोड तिर्नुपर्ने दाबी सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कपोलकल्पित र आधारहीन आरोपको संज्ञा दिइएको छ । उक्त दाबीको आधार र प्रमाणसमेत सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग कँडेलले गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयमा दीपकले दिएका विभिन्न निवेदनमा दाबी रकम फरक–फरक रहेको तथा २०७८ सालअघि विभिन्न चरणमा करिब रु. १० देखि १५ लाखसम्म थप रकम भुक्तानी गरिएका बैंक भौचर तथा प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन । साथै, दीपकले सार्वजनिक गरेका कागजातहरू झुटा तथा किर्ते भएको विषयमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिसकेको र उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै, त्यसबीच पनि सञ्चारमाध्यममार्फत भ्रमपूर्ण अभिव्यक्ति दिनु न्यायिक प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको उनको भनाइ छ ।

कँडेलले आफूलाई विभिन्न व्यक्तिको प्रभाव र दबाबमार्फत पटक–पटक धम्की तथा मानसिक दबाब दिन खोजिएको भन्दै आफ्नो जीउधनको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिसकेको जानकारी दिएका छन् । साथै, सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन ।

कँडेलले सञ्चारमाध्यम र आम नागरिकलाई एकपक्षीय आरोपका आधारमा निष्कर्षमा नपुग्न, तथ्य, प्रमाण र कानुनी प्रक्रियालाई सम्मान गर्दै विषयलाई वस्तुगत रूपमा हेर्न आग्रह गरेका छन् । आवश्यक परे सम्बन्धित सबै प्रमाण तथा कागजात अनुसन्धान निकाय र सञ्चारमाध्यमसमक्ष प्रस्तुत गर्न आफू तयार रहेको उनले बताएका छन ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>