चितवन विशेष
राजनीतिक दलको सदस्यता त्याग्न शिक्षक कर्मचारीलाई खैरहनी नगरपालिकाको आग्रह

चितवन, भदौ ११–
चितवनको खैरहनी नगरपालिकाले नगरभित्रमा विद्यालयमा पढाउने शिक्षक कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न आग्रह गरेको छ । नगर प्रमुख शशी कुमार खनियाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षक कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्यमा रही काम गर्न नपाउने कानुनी व्यवस्था रहेकाले दलको सदस्यता त्याग्न आग्रह गरेका हुन् ।
दलको सदस्यता नत्याग्ने शिक्षक कर्मचारीलाई शिक्षा नियमावली, २०५९ (शंसोधन सहित)को नियम १३८ को उपनियम (१) बमोजिम कारबाही गर्ने खनियाले चेतावनी दिएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको वहालवाल प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ । शिक्षा ऐन २०२८ मा समेत शिक्षक तथा कर्मचारीले सक्रिय राजनितिमा भाग लिन नपाउने व्यवस्था गरेको र त्यसको उल्लघंन गर्नेलाई शिक्षा नियमावली अनुसार कारबाही हुने व्यवस्था छ ।
शिक्षक जस्तो गरिमामय पदमा बसेर राजनिति गर्दा पठनपाठन प्रभावित हुने भएकोले त्यस्तो कार्य तत्काल रोक्न खनियाले आग्रह गरेका हुन् । उनले अब विद्यालयको नितिगत कामकार्यको लागि विद्यालय व्यवस्थापन समिति सक्रिय हुनुपर्नेमा जोड दिए । विद्यालयको प्रधानाध्यापकले विद्यालयको पठनपाठनमा ध्यान दिनुपर्ने भन्दै विद्यालयको नितिगत कामकाजको लागि प्रअले फाइल बोकेर हिड्ने परिपाटी अन्त्य गर्न आफूहरु लागेको नगरप्रमुख खनियाँले दावी गरे ।


























