चितवन विशेष
चितवनबाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्री लिएर आए प्रचण्ड

चितवन, भदौ ८–
चितवनबाटै प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृहजिल्ला चितवन आएका छन् । प्रचण्ड चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्रीलाई लिएर चितवन आएका हुन् । गठबन्धन दल नेपाली कांग्रेस चितवनका नेताहरुले भने यस पटक चितवन छाड्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।
चुनावको मुखमा जनतालाई आश्वासन दिने हिसाबले प्रचण्डले वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मत इस्तियाक राईलाई लिएर आएका हुन् । उनी चितवन आएलगत्तै आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको माडी जाँदै छन् । माडीको विकास निर्माणमा निकुञ्जले अवरोध गर्दै आएको छ । प्रचण्डले निकुञ्ज ऐन संशोधन गर्न नसकेको भन्दै माडीवासी प्रचण्डप्रति असन्तुष्ट छन् ।
माडीमा उनले पुलको उद्घाटनदेखि लिएर कार्यकर्तालाई प्रशिक्षण समेत दिँदै छन् । माडी नगरपालिकाको मेयर यस पटक नेकपा एमालेले जितेको छ । मेयर विपक्षी पार्टीको भएका कारण माडीलाई सुरक्षित बनाउन प्रचण्ड माडीमा केन्द्रित भएका हुन् । मन्त्रीसहित आएका प्रचण्डले माडीबासीलाई पुनः नयाँ आश्वासन दिने देखिन्छ ।



























