Breaking News

सरोकारवाला भन्छन्ः नारायणी किनारमा ठेला राखेर पैसा उठाउने काम भयो, व्यवस्थापन भएन

Banner

प्रतिमा कुमाल

चितवन, भदौं १

पर्यटकीय क्षेत्र चितवनको नारायणी नदी किनारको व्यवस्थापन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

नारायणी नदी किनार व्यवस्थापन उपसमिति भरतपुर महानगरपालिकाले गरेको ‘नारायणी नदी किनारको दीगो विकास र व्यवस्थापन’ विषयको अन्तरक्रिया कार्यक्रममा सहभागीबाट यस्तो असन्तुष्टि आएको हो ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले भौतिक संरचनाको विषयमा टाउँको दुखाउनै नपर्ने बताए । डीपीआर महानगरसँग रहेको भन्दै उनले काम मात्र नभएको व्यङ्ग्य गरे । उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणी नदी किनारलाई महानगरले आयआर्जनको माध्यमबाट मात्र हेरेको जीकिर गरे । महानगरले यसलाई पर्यटकीय आकर्षणको माध्यम बनाउनुपर्ने उनले तर्क गरे । उनले भने, ‘जब नारायणी किनारबाट आम्दानी हुने भयो तब यसको विकासको काम महानगरले गर्ने भन्यो । चितवनको पहिलो पर्यटकीय गन्तव्य बनिसकेको नारायणी किनार विकासमा महानगरले कति पनि खर्च गरेको छैन ।’ साथै श्रेष्ठले अस्वस्थ निर्माण कार्य भइरहेको बताए ।

भरतपुर महानगर कर अधिकृत बुद्धिप्रसाद भुसालले नदी किनार व्यवस्थापनको काममा चुस्तता नदेखिएको स्वीकार गरे । यस विषयलाई माथिल्लो निकाएमा पु¥याउने प्रतिबद्धता गरे । गत वर्ष लक्ष्य भन्दा कम ३८ लाख मात्र राजस्व संकलन भएको बताए । नदी किनारमा भएको व्यवसायबाट ५० लाख सम्म कर उठ्ने लक्ष्य लिइएको थियो । साथै उनले मोटरबोटबाट करमा चुहावट भएको जानकारी गराएका छन् । यस विषयमा कसरी काम गर्ने भन्नेमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

भरतपुर–१ का वडाध्यक्ष तथा नारायणी नदी किनार व्यवस्थापन उपसमिति भरतपुर महानगरपालिका संयोजक केशव महर्जनले नदी किनार व्यवस्थापनको लागि तत्काल गर्न सकिने काममा जोड दिनुपर्ने बताए । आफू जनप्रतिनिधिको रुपमा आएसँगै केही हप्तामै ११ देखि २ महिनाबाट राजस्व नबुझाएका बाट चार लाख ५० हजार उठेको जानकारी दिए । अन्तरक्रियामा उठेका विषयलाई आत्मसाथ गदै नारायणी नदीलाई पर्यटकीय क्षेत्रमा विकास गर्न लागिपर्ने उनको विचार थियो ।

सहभागी पाँच टोल विकासका अध्यक्ष दीपकशाही ठकुरीले महानगर र वडाले नारायणी नदी व्यवस्थापनको जिम्मेवारी लिएदेखि कुनै काम हुन नसकेको बताए । उनले भने, ‘नदी किनारलाई पर्यटकीय बनाउने भन्दै कसियांै, पछि महानगरले यसको जिम्मा लिने भन्यो, हामीले दियौं । समितिमा हामीलाई सदस्य मात्र राखे तर हामी केही भनेनौं । हाम्रो लागि पनि विकास नै ठूलो थियो । जिम्मेवारी लिएको महानगर र वडाले भनेजस्तो काम गर्न सकेको छैनन् ।’

ठकुरीले राजस्वको ३० प्रतिशत पाँच टोललाई भने पनि अहिलेसम्म नपाएको जीकिर गरे । महानगरले रकम उपलब्ध नगराउँदा कामदारलाई तलबसमेत दिन नसकेको बताए । भरतपुर–१ का पूर्ववडा सदस्य शुक्रकुमार श्रेष्ठले नदी किनारको व्यवसायबाट उठेको राजस्वको ३० प्रतिशत रकम महानगरले उपलब्ध नगराउँदा काम गर्न नसकेको बताए । २–३ महिनासम्म तलब दिन नसक्दा कर्मचारीले काम गर्न नसकेको उनको भनाइ थियो ।
स्थानीय मानबहादुर गुरुङले नदी किनार ठेला राखेर पैसा कमाउने ठाउँ मात्र बनेको बताए । गुरुङले पदमार्गसमेत ठेलाले ओगट्न थालेको बताए । त्यहाँ देखिएको पार्किङ समस्या, पकेट मार, विकृति विसंगतीको समस्या सामाधान गर्न सुरक्षाकर्मीलाई जिम्मा दिनुपर्ने सहभागीहरुको माग थियो । उनीहरुले काम गर्ने कालु मकै खाने भालु भइरहेकोमा आक्रोश व्यक्त गरे । नदी किनार पर्यटन क्षेत्रको पूर्णरुपमा विकास नहुदासम्म महानगरलाई राजस्व दिन नहुने उनीहरुको धारणा थियो । राजस्व बुझाए अनुरुपको महानगरले कुनै काम नगरेको भन्दै उनीहरुले पूर्ण विकास भएपछिको राजस्वमा ४० प्रतिशत नारायणी नदी किनार व्यवस्थापन समितिले लिने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्षद्वय उत्तमलाल चुके, रामप्रसाद श्रेठ, जिल्ला गैरसरकारी संस्थाका पूर्वअध्यक्ष लोमस श्रेष्ठ, पर्यटन व्यवसायी दिगम्बर पिया, जेष्ठ नागरिक मिलन केन्द्र अध्यक्ष डिभी अर्याल, पाँच टोल विकासका पदाधिकारी, सदस्य, स्थानीय लगायतको उपस्थिति रहेको थियो । नारायणी नदी किनारको व्यवस्थापन, निर्माण, सुरक्षा, सुधारको काम भरतपुर महानगर, उद्योग वाणिज्य संघ, पाँच विकास समितिले गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>