देश/प्रदेश

गरिब बस्तीमा इन्धनको चिन्ता

Banner

महोत्तरी, जेठ ६-

बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरुले पतिङ्गर सोहार्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा के ले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन् ।

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन । “अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतै” (यसपालि पतिङ्गर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला ?) भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्नुहुन्छ, “बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहल” (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन) । जिल्लाका मुसहर, बाँतर समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो ।

“चैत, वैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली” (चैत, वैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन) गौशाला-४ की भुल्ली सदाले भन्नुभयो, “गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अई” (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो ?) सङ्कलित पतिङ्गर बेचेर कमाउने नगद पनि यसपालि नभएको भङ्गाहा-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गर्नुभयो ।

यहाँका स्थानीयवासीले चैत र वैशाखमा सङ्कलन गरेका पतिङ्गर आपूmलाई वर्षभरि चाहिने राखेर अरु किसानलाई बेचेर आम्दानी लिन्थे । बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिङ्गरले छोप्ने गर्छन् । वनक्षेत्रको पतिङ्गर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीवासीहरु अहिले सडक, चउर र चरनक्षेत्र चहार्दै छन् । यी ठाउँमा केही गोबर सङ्कलन गर्नसके चिपरी पथारेर सुकाउन सकिने उनीहरुको आशा छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>