चितवन विशेष

फोनिजको २३ औं स्थापना दिवसमा चितवन शाखाको कार्यालय उद्घाटन

Banner

चितवन, साउन २८ –

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले २३ औं स्थापना दिवस मनाएको छ ।

शुक्रबार नेपाल आदिवासी जनजाति महासंघको निर्माणधिन भवन भरतपुर–११ भोजाडमा कार्यालय शुभारम्भ गरी फोनिजले स्थापना दिवस मनाएको हो । यस अघि फोनिजले भरतपुर १० मा भाडाको घरमा कार्यालय सञ्चालन गरेको थियो ।
इच्छाकामना गाँउपालिकाका प्रमुख दानबहादुर गुरुङले शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

सो अवसरमा शुभकामना तथा बधाई दिँदै प्रमुख गुरुङले फोनिजको संस्थागत विकासका लागि गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनजाति पछाडि पर्नुको कारण बुझ्न नसके झनै पछाडि पर्ने बताउनुभयो । उहाँले जनप्रतिनि र सरकारले यो या त्यो गरेनभन्दा पनि सहयोग गरेर समाज निर्माणमा हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले फोनिजमा आबद्ध पत्रकारहरुलाई सबैको साझा भएर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाकी उपाध्यक्ष प्रमिता ढकालले महासंघमा जनजाति पत्रकारको संख्या बढाउन फोनिजले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सक्रिय भएर काम गर्ने पत्रकारलाई महासंघले समान रुपमा अवसर प्रदानगर्दै आइरहेको बताउनुभयो ।

फोनिज चितवनका वरिष्ठ सल्लाहाकार पदमबहादुर गुरुङले जनजातिको अस्तित्व चाहाने हो भने बाह्रखरिको (प) र (त) को सिद्धान्तमा हिड्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, ‘बाह्रखरीको (प) अर्थात पहिचान,पहुच र प्रतिनिधित्व हामीले सरकारसंग माग गरिरहेका छौं । यसका लागि हामी (त) अर्थात तार्किक, तथ्याङ्कमा आधारित र तरल हुन आवश्यक छ ।’

संस्कार सँस्कृतिबाट भरिपूर्ण जनजाति समुदायको हकहितका लागि सरोकारवालाहरुसंग असुन्तुष्टी व्यक्त गर्न नहुने गुरुङले धारणा राख्नुभयो ।फोनिज चितवनका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य सन्तकुमार चौधरीले जनजातिहरु पार्टीको पछि मात्र लागेको गुनासो गर्नुभयो । ठाउँमा पुगेर पनि आफ्नो समुदायको लागि केहि गर्न नसक्नु दुःखद भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी जनजाति नभई पार्टीको मान्छे बनेका छौं । यसरी हाम्रो पहिचान, हक अधिकार कसरी सुनिश्चित हुन्छ ।’

चौधरीले फोनिजलाई अगाडि बढाउन स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।फोनिज बाग्मती प्रदेशका उपाध्यक्ष राजेश रुम्बालामाले पार्टीभन्दा माथि जाति र जातिभन्दा माथि देश राख्न आग्रह गर्नुभयो । अझैसम्म पहिचान कै लडाईमा रहेकाले राजनीतिक कुरामा मात्र घुम्न नहुने उहाँको भनाइ छ ।

नेपाल आदिवासी जनजाति युवा महासंघ चितवनका अध्यक्ष सागर कुमालले जनजातिको कार्यक्रमहरु कोठामै सिमित भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनजाति भेषभुषा, संस्कार, सँस्कृतिको धनि छ । तर कोठामा मात्र सिमित छ । कोठामा सिमित पहिचानलाई बाहिर निकाल्नु आवश्यक छ ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा, सचिव रामबहादुर भुजेल, फोनिज केन्द्रीय सदस्य चित्र गुरुङ, सल्लाहकार महेन्द्र बहादुर श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, फोनिज चितवन उपाध्यक्ष तुलमान गुरुङ, थारु पत्रकार महासंघ चितवनका अध्यक्ष दिपेश चौधरी, नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष अनुज जोशी, मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगर लगाएतले मन्तव्य राख्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>