चितवन विशेष

चितवनको राप्तीमा लालपूर्जा बाड्न जग्गा नाप नक्सांकन सुरु

Banner

चितवन, साउन १६–

पूर्वीचितवनको राप्ती नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा प्रदान गर्न पहाडी वडाबाट जग्गा नाप नक्सांकन कार्य सुरु गरेको छ ।

नगरको वडा नम्वर ११ डुम्रेखाँडीबाट नक्सांकन सुरु भएको हो । आज एक कार्यक्रमकाबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालको उपस्थितिमा नाप नक्सांकन कार्य सुरुवात गरिएको हो । नगरपालिकाले अहिलेसम्म वडा नम्वर १०, ११ र १२ मा जग्गाको निस्सा वितरण गरेको छ भने बाँकी वडामा बाँकी छ । ती सबै वडामा साउन मसान्तभित्र निस्सा वितरण गरेर नाप नक्सांकन सुरु गरिने नगर प्रमुख शमशेर लामाले जानकारी दिए । ‘हामी लक्ष्य भन्दा अगाडि काम गर्न सुरु गरेका छौ’ नगर प्रमुख लामाले भने ‘भदौदेखी जग्गा नापजाँच गरी दशै अगाबै लालपूर्जा प्रदान गर्नेछौ।’

राप्ती नगरभित्र भुमिहिन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासी गरि कुल ८ हजार ९८६ परिवारले फाराम भरेका छन् । जसमध्ये अव्यवस्थित बसोबासीको संख्या आधा भन्दा धेरै छ । नगरपालिकाले दिएको तथ्यांक अनुसार अव्यवस्थित बसोबासी परिवार संंख्या ६ हजार १८४, भुमिहिन सुकुम्वासीको घरधुरी संख्या २ हजार ४२९ र भुमिहिन दलितको घरधुरी संख्या ३ सय ७३ रहेको छ । वडाका विभिन्न स्थानमा राखिएको पोईन्टबाट जिपिएस मार्फत जग्गाको नाप्ने काम हुनेछ ।

राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सीनाले वडा र नगरपालिकाले जति छिटो काम सम्पन्न गरेर आयोगले सोही अनुसार लालपूर्जा प्रदान गर्ने बताए । ‘जग्गा नापजाँच गर्दा स्थानीयले पनि सहयोग गर्नुपर्छ, वडा र नगरले जतिछिटो काम गर्छ,सोही अनुसार आयोगले थप प्रक्रिया अघि बढाउँछ’ जिल्ला आयोग अध्यक्ष तिमल्सीनाले भने ‘नयाँ आयोग बनेको छोटो समयमै कतिपय ठाउँमा लालपूर्जा बाडीसकियो, राप्तीमा पनि यही आयोगले वितरण गर्नेछ ।’ तिमिल्सीनाले नगरपालिकाले शहरी क्षेत्र, शहर उन्मुख क्षेत्र,ग्रामिण क्षेत्र र कृषि क्षेत्र वर्गीकरण गरेर काम गर्नुपर्ने बताए ।

बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री खनालले बाढी पीडित र सुकुम्वासीका नाममा राजनीति गरेर यतिका बर्ष बिताएको भन्दै अब त्यस्तो छुट नरहेको बताए । अघिल्लो आयोगले काम नगरेको भन्दै मन्त्री खनालले वर्तमान गठबन्धन सरकार नेतृत्वको आयोगले धमाधम काम गरिरहेको बताए । ‘फेरी पनि आयोग वन्ने संभावना छैन्, त्यसो हुँदा वर्षौ पछि धकेलिन सक्छ’ मन्त्री खनालले भने ‘हात वित्तामा झगडा नगरि फिल्डमा खट्ने कर्मचारीलाई स्थानीयले सहयोग गर्नुस्,यही आयोगले सवैलाई लालपुर्जा दिन्छ ।’

राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले जग्गाको नाप नक्सांकन सुरु गरेकै ठाउँबाट निस्सा वितरण गरेको भन्दै यहाँका स्थानीयले रातो लालपुर्जा प्राप्त गर्ने दिन टाढा नरहेको बताए । भुमि आयोग चितवनका प्रमुख नापी अधिकृत गृस कुमार लालले नक्सांकन गरेपछि जग्गाको नक्सा तयार हुने, त्यसपछि विवरण सार्वजनिक गरिने, जिल्ला स्तरीय समितिले निर्णय गरेपछि जग्गा दर्ता गरि श्रेस्ता तयार पार्ने काम हुने बताए ।

नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति किरणभुषण सिंह ओली, नेकपा एमाले वडा प्रतिनिधी शिव लामा, नेकपा एकिकृत समाजवादी नगरका वरिष्ठ उपाध्यक्ष कुवेर सिंह लामा, नेकपा माओवादी केन्द्र वडा प्रतिनिधी अक्कर बहादुर गोलेले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>