खैरहनी

को हुन चितवन १ बाट चुनाव लड्ने तयारीमा रहेका स्वर्णिम वाग्ले ?

Banner

चितवन,जेठ २८

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरिरहेका बेला अर्थशास्त्री वाग्लेलाई कांग्रेस नेताहरूले चितवन क्षेत्र नम्बर १ वा काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव उठ्ने तयारी गर्न सुझाएका छन् ।

मिति घोषणा भइनसकेको भए पनि मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारी छ । निर्वाचन लड्ने तयारीका लागि वाग्लेले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिइसकेका छन् । उनी आगामी अगष्टमा नेपाल फर्किँदै छन् ।

अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी गत असारमा नियुक्त भएका वाग्ले कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेर अमेरिका गएका थिए । स्थानीय तहको निर्वाचनका क्रममा समेत उनले एक महिना लामो बिदा लिएर सक्रियता देखाएका थिए ।

अहिले चितवन १ वा काठमाडौं ५ बाट निर्वाचन लड्न कांग्रेस नेताहरूको सुझाव आएको वाग्लेले बताएका छन् ।

को हुन् वाग्ले ?

स्वर्णिम अहिले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार छन् । यद्यपि उनले यो पदबाट राजीनामा भने बुझाइसकेका छन् ।

सुशील कोइरालाको प्रधानमन्त्रीकालमा उनलाई अमेरिकाबाट बोलाएर योजना आयोगको सदस्यमा नियुक्त गरिएको थियो । तत्कालीन अर्थमन्त्री रामशरण महत र तत्कालीन सचिव रामेश्वर खनालले समेत आग्रह गरेरपछि अमेरिकाको जागिर छोडेर नेपाल आएर उनले योजना आयोगको सदस्य भएर काम गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्डको पालामा उनी दोस्रोपटक योजना आयोगको सदस्य बनेका थिए भने अघिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाग्लेले योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए ।

१३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले वाग्लेलाई महासमिति सदस्यमा समेत मनोनीत गरेका थिए । वाग्लेले बूढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् ।

पार्टीको प्रशिक्षण र दस्तावेज निर्माणमा सक्रिय

कांग्रेसको राजनीतिमा विभिन्न लेखरचनामार्फत पार्टीले अघि सारेका अर्थराजनीति र नीतिका विषय पस्किनुका साथै प्रशिक्षण र दस्तावेज लेखनमा उनी सक्रिय रहँदै आएका छन् । उनले कांग्रेसले अघि सारेको र सार्नुपर्ने अर्थराजनीतिबारे नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै आएका छन् ।

त्यस्तै २०७०, २०७४ को निर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनका क्रममा पार्टीको घोषणपत्र तयार गर्न पनि उनी सक्रिय थिए । पार्टीमा विकास र आर्थिक परिदृष्यको उजागर तथा पार्टीले अघि सार्नुपर्ने मुद्दाका विषयमा पनि उनले परामर्श दिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>