खैरहनी
स्थानीय निर्वाचनः खैरहनीमा ५९ जना थारुको प्रतिस्पर्धा

कारी महतो
चितवन, वैशाख २२–
थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनी नगरपालिकाको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुले कुल ५९ जना थारु समुदायका उम्मेद्वार उठाएका छन् ।
नेकपा एमालेको सबैभन्दा धेरै थारु उम्मेद्वार रहेका छन् । नगरप्रमुखसहित १९ जना थारुले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । लालमणि चौधरीले नगरप्रमुख पदमा दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन् भने ५ जनाले वडाअध्यक्षमा र १३ जनाले वडासदस्यमा उम्मेदवारी दिएका छन् । वडा नं. ७ मा मनेजर महतो, ८ मा शान्ति कुमारी चौधरी, ९ मा बन्धुराम चौधरी, १० मा कारीराम चौधरी र १२ मा कृष्णलाल चौधरीले एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसले २ जना वडा अध्यक्ष र १३ जना वडासदस्य गरी १५ जना थारु उम्मेदवार उठाएको छ । वडा नं. ७ मा किरण चौधरी र वडा नं. १० मा चन्द्र विक्रम चौधरीले काँग्रेसको तर्फबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ जना वडाअध्यक्ष र ५ जना वडासदस्य पदमा उम्मेदवार उठाएको छ । वडा नं. ५ मा देवेन्द्र चौधरी, ६ मा यसरमिया चौधरी, ७ मा गीता चौधरी, ९ मा सुशील कुमार चौधरी र १३ मा भोला प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।
यता नेकपा (माओवादी केन्द्र)ले एक जना वडाअध्यक्ष र ६ जना वडासदस्य गरी ७ जनालाई उम्मेद्वार बनाएको छ । वडा नं. १० मा रामेश्वर चौधरीले माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी)ले ५ जनालाई वडासदस्य पदमा उठाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एकजनाले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् । रिखीराम चौधरीले वडा नं. १० को वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।
यस्तै स्वतन्त्रबाट एक जनाले वडासदस्य पदमा उम्मेदवार दिएका छन् छन् । उपप्रमुख पदमा रामेश्वर प्रसाद चौधरीले स्वतन्त्र उम्मेदवार दिएका छन् । पछिल्लो समयमा उनले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाएका छन् । खैरहनी नगरपालिकामा १३ वडाहरु रहेका छन् ।


























