खैरहनी
खैरहनीका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमाः मेयरका उम्मेदवार चौधरी

चितवन, वैशाख १८–
नेकपा एमालेका तर्फबाट खैरहनी नगरपालिका प्रमुखका उम्मेदवार बनेका निवर्तमान नगरप्रमुख लालमणि चौधरीले आफू पुनः नगरप्रमुखमा निर्वाचित भएपछि विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने बताएका छन् ।
आजदेखि सुरु भएको घरदैलो कार्यक्रमको उद्घाटनका क्रममा उम्मेदवार चौधरीले आफू निर्वाचित भएको खण्डमा आगामी कार्यकालमा ५०० विपन्न, गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्नुका साथै न्यूनतम पानीको महसुल पनि निःशुल्क गर्ने बताए । ‘नगरको पूर्वाधारमा हामी अगाडि छौँ’, नगरप्रमुखका उम्मेदवार चौधरीले भने, ‘जनता प्रत्यक्ष लाभान्वित हुनेगरि लोककल्याणकारी कार्यक्रम ल्याइनेछ ।’ नगरप्रमुखका उम्मेदवार चौधरीले आफ्नो पहिलो कार्यकालमा पूर्वाधारको काम धेरै भएकोले अब लोक कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनका क्षेत्रमा धेरै सुधार भइसकेको उल्लेख गर्दै चौधरीले अब विषेश ध्यान शिक्षा र स्वास्थ्यमा दिन आवश्यक रहेको औँल्याउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा पूर्वाधार विकास सहितको मूल्यांकनमा खैरहनी नगरपालिका चार पटकसम्म उत्कृष्ट घोषणा भएको उनको भनाइ थियो । चौधरीको कार्यकालमा स्थानीत तह क्षमता विकास स्वमूल्यांकनमा खैरहनी नगरपालिका लगातार दुई वर्ष देशभरकै उत्कृष्ट नगरपालिका भएको थियो ।
त्यस्तै सूचना प्रविध लेखाजोखा मुल्यांकनमा जिल्ला प्रथम तथा देशभर चौथो बन्न सफल भएको थियो । त्यसैगरी, विसं २०७५÷७६ मा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत खैरहनी नगरपालिका पुरस्कृत भएको थियो । यी सबै नजिता ल्याउनमा जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरवासीको भूमिका रहेको चौधरीले बताए ।
यसैबीच, नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि खैरहनीमा आइतबारदेखि घरदैलो तथा कोण सभा सुरु गरेको छ । एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार लालमणि चौधरी र उपप्रमुख पदका उम्मेदवार कविता उप्रेतीले घरदैलो सुरुआत गरेका हुन् । नगरस्तरीय घरदैलो कार्यक्रमको सुरुआत खैरहनी–६ तुलसीपुरबाट औपचारिक कार्यक्रमका बीच गरिएको थियो ।
घरदैलो कार्यक्रम सुरुआतका क्रममा प्रमुख अतिथि रहेका नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलियाले सुक्ष्म ढंगबाट निर्वाचन प्रचारप्रसार र एमाले जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । आइतबार पहिलो दिन खैरहनी वडा नम्बर ६ र ७ मा घरदैलो गरिएको छ । घरदैलो तथा कोण सभामा उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती, खैरहनी ६ का वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरु, वडा नम्वर ७ मा वडा अध्यक्षका उम्मेदवार मनेजर महतोसहित वडा सदस्यका उम्मेदवारहरु, एमालेका नेताहरु, युवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो ।
सोमबार दोश्रो दिन खैरहनी नगपालिका वडा नम्बर–९ मा घरदैलो तथा कोण सभा गरिने निर्वाचन प्रचार प्रसार समिति संयोजक जगन्नाथ आचार्यले जानकारी दिए ।


























