खेलकुद
अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा
काठमाडौं, वैशाख १४-
नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीको इस्टानबुलमा हुनेछ ।
१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजी तौल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन् । जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन । रावलले जितेको पदक १२ वर्ष पछि नेपालले जितेको पदक हो । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दीपक महर्जनले काँस्य पदक जितेका थिए ।
अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले नाम दर्ता गराइसकेका छन् ।