देश/प्रदेश

स्थानीय निर्वाचन: उम्मेदवारका आकांक्षीको शीर्ष नेता भेट्न दौडधूप

Banner

महोत्तरी, वैशाख ७-

अघिल्लो साता महोत्तरी कांग्रेसका नेता चिरञ्जीवी हमाल, जिल्ला सभापति नागेश्वर यादवलगायतका नेताहरू शीर्ष नेताहरूलाई काठमाडौंमा भेटेर फर्किएको केही दिन नबित्दै अर्का नेता प्रल्हाद क्षेत्री सभापति शेरबहादुर देउवालाई भेट्न पुगे । शनिबार नेता क्षेत्रीले सभापति देउवासँग भेट भएको पुष्टि गर्न कांग्रेस बर्दिबासका स्थानीय युवा नेता विनोद ढुंगेलले सँगै खिचाएका तस्बिर सार्वजनिक गरे ।

भेटघाटपछी जिल्लामा गठबन्धन गर्नुपर्ने सन्देश बोकेर फर्किएका नेता हमाल र यादवले पार्टी पंक्तिमा छलफल पनि चलाए । तर गठबन्धनप्रति त्यति धेरै खुल्न नसकेका नेता क्षेत्रीले अचानक सभापतिलाई भेटेको तस्बिर सार्वजनिक भएपछि कांग्रेस महोत्तरीमा अब के हुने भन्ने विषयले चर्चा पाएको छ ।

शीर्ष नेतासँगको भेटले नेताहरूलाई चुनावी माहोल बनाउन सहयोग पुग्छ कि पुग्दैन भन्दा पनि एउटै पार्टीभित्रका फरक(फरक नेताहरूको दौडधूपलाई भने अर्थपूर्ण ढंगले हेरिएको छ । नेता हमाल र क्षेत्री बर्दिबास नगर प्रमुखका दाबेदार हुन् ।

माओवादी केन्द्रका नेताहरूको पनि केही दिन अगाडि निकै दौडधूप चल्यो । युवा नेता शंकर महतो अध्यक्ष प्रचण्डलाई भेटेर आफू पनि नगर प्रमुखको दाबेदारी भएको बताउँदै आएका छन् । वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्जसमेत रहेका महतोले उम्मेदवारीमा दाबी गरेपछि जिल्लास्थित युवा कार्यकर्ता उत्साही हुँदै अहिले सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी हुन थालेका छ।

नेता महतो प्रचण्ड निवास खुमलटार पुगेको एक दिन पनि नबित्दै मेयरकै आकांक्षी मानिएका राजन ढुंगाना, प्रकाश पोखरेललगायतका नेताहरू खुमलटार पुगेर छुट्टाछुट्टै भेटघाट गरे । प्रचण्डसँग छुट्टाछुट्टै भेटघाट गरेर फर्किएका नेताहरू अहिले अनौपचारिक प्रचारप्रचारमा आफ्नै तरिकाले लागिपरेको देखिन्छ ।

बर्दिबास नगरपालिका मात्र होइनअन्य पालिकाबाट समेत टिकट आफ्नो पोल्टामा पार्न दलबलसहित शीर्ष नेताहरूको निवास धाउने प्रक्रिया अझै टुंगिएको छैन ।

एमालेको अवस्था पनि उस्तै छ । पालिकामा आकांक्षा देखाउनेहरूको संख्या अधिक बनेपछि एमालेलाई उम्मेदवार टुंग्याउन निक्कै सकस बनेको छ । मंगलबार बेलुका विभिन्न पालिकामा बसेको बैठकले धेरैजसो नाम सिफारिस गरे । एउटै पालिकाबाट मेयर पदको लागि ११ जनाभन्दा बढीको नाम सिफारिस भएको छ ।

सिफारिसमा पठाएका नामहरूलाई उम्मेदवार छनोट सचिवालय समितिले बहुमत र अल्पमतको सूची बनाएर पठाएको हुनाले जिल्लालाई उम्मेदवार छनोट गर्न सजिलो बनाए पनि आकांक्षीहरू सचिवालयको निर्णय स्वीकार्न तयार छैनन् ।

बर्दिबास नगरपालिकाका चन्द्रलाल क्यापछाकी अहिले संघीय राजधानी काठमाडौंमा भेटघाटमा ब्यस्त छन । उनी एमालेबाट मेयर पदका आकांक्षी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>