देश/प्रदेश
तथ्यहिन भ्रामक समाचारप्रति बारागढी गाउँपालिकाको आपत्ति

रामाकान्त चौधरी
बारा, वैशाख ६–
बारागढी गाउँपालिकाले आफ्ना बारेमा केही दिन देखि तथ्यहिन तथा भ्रामक समाचार प्रकाशन हुँदै आएको भन्दै आपत्ति जनाएको छ । बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले विज्ञप्ति जारी गर्दै गाउँपालिकाबाट लाभ लिन नपाएपछि तथ्यहिन र भ्रामक समाचार प्रकाशन गरेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘समाचार लेख्ने पत्रकारले गाउँपालिकामा पटकपटक कार्यक्रम तथा आर्थिक लाभ हुने काम माग्ने गर्थे तर गाउँपालिकाले नदिएकाले तथ्यहिन तथा भ्रामक समाचार प्रकाशित गरिएको हो ।’
तथ्यहिन समाचार लेख्ने पत्रकारको समाचार पढ्दा जहिले पनि बार्गेनिङ गर्ने समाचार हुने गरेको प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बताए। प्रमुख प्रशासकीय अधिकृत चौधरीले थपे–‘चुनाव नजिकिदै गर्दा विभिन्न राजनीतिक दलका नेताहरूको बहकावमा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन गर्ने गरेको हामीले बुझेका छौं ।’ महालेखा परीक्षणले प्रकाशन गरेको ५८ प्रतिवेदनमा बारागढी गाउँपालिका सबैभन्दा कम बेरुजु भएकोले विपक्षी दलका नेताहरूले पत्रकारलाई परिचालन गरि विभिन्न किसिमको अनर्गल समाचार सम्प्रेषण गराउने गरेको बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछाड थारूले बताए ।
‘बारागढी गाउँपालिकाको गोरख धन्दा, दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाडिएको तथ्य फेला’ भन्ने शिर्षकमा समाचार लेख्ने पत्रकार मेरो गाउँले हो, गाउँले भएकै नाताले मैले आफ्नो फाँटमा बसाएका थियौं । तर उसले आफूलाई बिना जानकारी नदिई दर्ता रजिष्टरको फोटो खिचेको रहेको छ । पाँच महिला पहिले खिचिएको फोटो राखि अहिले समाचार बनाएको बुझियो’–अध्यक्ष थारुले भने ।
गाउँपालिकाले तथ्यहिन र भ्रामक समाचार लेख्ने पत्रकारलाई कार्यक्रम तथा आर्थिक लाभ हुने काम नदिएकाले समाचारहरू लेख्ने गरेको अर्का कर्मचारी उपेन्द्र साहले आरोप लगाएको छ ।
पत्रकारले समाचार लेख्दा आचार संहिता पालना गर्नुपर्ने हुन्छ, तर समाचार लेख्ने पत्रकारले समाचार लेख्दा सम्बन्धित कार्यालयका फाटँवाला प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतसँग कुनै पनि प्रतिक्रिया न लिई समाचार लेख्ने गरेको साहले दावी गरे।
साथै निर्वाचन नजिकिदै गर्दा संचारकर्मी साथीहरूले पनि राजनीतिक दलका पछाडि नलागि सत्य तथ्य बुझि समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए।

























