देश/प्रदेश

हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी

Banner

खोटाङ, वैशाख १-

खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।

हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २०० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९५०, बसाहा गुफामा राखिएको दानपेटीकाबाट ९३ हजार ९८०, शिवरात्री र रामनवमीको चामल बिक्रीबाट २५ हजार २०० र ढ्याके सटहीबाट ३ हजार ९०० आम्दानी भएको हो । २६ चैतमा शिवरात्री मेला परेका कारण पनि हलेसीमा १० दिनमा उल्लेख्य मात्रामा भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

विद्युत, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थाई कर्मचारीलाई तलव भत्ता, दुध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च हुँदा बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुछ्रे बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रुपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>