देश/प्रदेश

विद्यालयमा पानीको व्यवस्था नहुदाँ शौच गर्न घर पुग्छन् विद्यार्थी

Banner

प्रकाश पाक्साँवा,

तेह्रथुम, चैत ९-

विद्यालयको नजिकै खियैखिया लागेको धारा । धारामा वर्षौंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षौंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन । विद्यालयमा ४५ जना विद्यार्थी अध्यायनरत छन् ।

विद्यालय परिसरमा पानी नहुँदा शौच गर्नसमेत समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन् । विद्यालयको शौचालयमा पानी नहुँदा घरैमा गएर शौच गर्न पुग्ने गरेको कक्षा १ पढ्दै आएका ईतुङ लिम्बूले बताए । ईतुङ जस्तै कक्षा ५ मा पढ्दै आएकी निसुम लिम्बू पनि घरमै गएर शौच गर्ने गरेको बताउँछिन् ।

विद्यालयमा पानीको व्यवस्थापनका लागि स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको प्रधानध्यापक सिर्जना योङहाङले बताइन् । उनी भन्छिन्, ‘शौचालय छ । तर, पानी नै छैन । शौचालयमा पानीको व्यवस्थापन त परैको कुरा । हाम्रो पहिलो समस्या भनकै खानेपानी हो । खानेपानी सँगै भवनको पनि अभाव छ । भवन नहुँदा जीर्ण भवनमा नै विद्यार्थीलाई पढाउँदै आएका छौँ ।’

स्थानीय सरकारबाट विद्यालयको समस्या समाधानका लागि पहल गर्दै आएको भए पनि समुदायको ध्यान केन्द्रित नभएको छथर(५ का वडाध्यक्ष पुन्य ढकालले बताए । ‘२५ मिटरको दूरीमा पानीको श्रोत छ । खानेपानीको समस्या नै भन्नु भन्दा पनि व्यवस्थापनको खाँचो छ । हामीले हाम्रो तर्फबाट प्रयास गर्दै आएका छौँ,’ उनले भने ।

नेपाल सरकारले खुला दिशामुक्त गाउँ तथा जिल्ला घोषणा गरे पनि पानीको स्रोत नहुँदा राष्ट्रिय अभियान नाममा मात्र सीमित बन्दै आएको छ । तेह्रथुमलाई पनि २०७२ सालमा घोषणा गरिएको थियो । घोषणा गरेको ६ वर्ष बितीसक्दा पनि अभियानले पूर्ण रुप लिन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>