देश/प्रदेश

कैलालीबाट १३ सय ५९ मतदाता घटाउन सिफारिस, अन्तिम नामावली सार्वजनिक गर्ने तयारी

Banner

मोहन जोशी,

धनगढी, चैत ९-

कैलालीबाट एक हजार तीन सय ५९ मतदाताको नामावली खारेज गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार जिल्लामा मतदाता नामावलीको विवरण अध्यावधिक गर्ने क्रममा एक हजार तीन सय ५९ मतदाताको मृत्यु भएको पाइएपछि उनीहरूको नाम मतदाताको सूचीबाट हटाउन केन्द्रीय कार्यालयललाई सिफारिस गरिएको हो ।

‘नयाँ थपिएका मतदाताको विवरणसहित स्थानीय तहमा नामावली पठाएर अध्यावधिक गर्न लगाइएको थियो,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले भने, ‘१३ वटै स्थानीय तहबाट गरी एक हजार तीन सय मतदाताको मृत्यु भएको विवरण आएको छ, सिफारिसमा परेका मृतकहरूको नाम मतदाताको सूचीबाट हटाउन आयोगसमक्ष सिफारिस गरिएको छ ।’

उनले १० देखि १३ चैतसम्म जिल्लाको अन्तिम नामावली विवरण प्रकाशन गर्ने तयारी भइरहेको बताए । निर्वाचन आयोगले स्थानीय तहमा भाग लिन योग्य मतदाताको अन्तिम नामावली तयार पारिरहेको उल्लेख गरे ।

कैलालीमा गत १८ पुसदेखि माघसम्म मतदाता नामावली दर्ताका लागि आह्वान रिएको थियो । सो समयमा जिल्लाका करिब २३ हजार चार सय ५६ नयाँ मतदाता थपिएका थिए ।

थपिएका मतदातासमेत जोडेर निर्वाचन आयोगले सो विवरणलाई अध्यावधिक गर्न स्थानीय तहलाई नयाँ विवरण उपलब्ध गराएको थियो । स्थानीय तहले आफ्नो क्षेत्रमा मृत्यु भएका मतदाताको नामसहितको विवरण फागुन तेस्रो साता निर्वाचन आयोगलाई बुझाएका थिए । स्थानीय तहले गरेको अध्यावधिकका आधारमा जिल्ला निर्वाचन कार्यालय कैलालीले २६ माघमा मतदाताको अन्तिम नामावली विवरण केन्द्रीय निर्वाचन आयोगसमक्ष बुझाएको हो ।

२०७४ मंसिरमा सम्पन्न निर्वाचनसम्म कैलालीमा चार लाख ६३ हजार दुई सय ९२ मतदाता रहेका थिए । पुसमा २३ हजार बढी मतदाता थपिएमा थिए । अध्यावधिक गर्दा पुनः एक हजार तीन सय मतदाता घटेपछि कैलालीको मतदाता संख्या चार लाख ८० हजारभन्दा बढी हुने अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी चौधरीले भने केन्द्रीय निर्वाचन आयोगले नामावली सार्वजनिक नगरेसम्म मतदाताको एकिन तथ्याङ्क भन्न नसकिने बताए ।

कैलालीमा २४ दलले बुझाए विवरण

आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुन कैलालीका २४ राजनीतिक दलले आफ्नो विवरण जिल्ला निर्वाचन कार्यालय कैलालीमा बुझाएका छन् । निर्वाचन आयोगले दलको विवरण बुझाउन गरेको आह्वानपछि जिल्लाका २४ राजनीतिक दलहरूले आफ्नो विवरण बुझाएको आयोगका सूचना अधिकारी राजेश चौधरीले बताए । ६ चैतपछि भने दल दर्ता र विवरण बुझाउन बन्द गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>