देश/प्रदेश

केक काटेर मनाइयो लामटाङ राष्ट्रिय निकुञ्जको ४६औं वार्षिकोत्सव

Banner

रसुवा, चैत ९

नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज लामटाङ राष्ट्रिय निकुञ्जले केक काटेर ४६औं वार्षिकोत्सव मनाएको छ । निकुञ्जले बुधबार सदरमुकाम धुन्चेमा कार्यक्रम आयोजना गरी केक काटेर कार्यालयको वार्षिक उत्सव मनाइएको हो ।

मुख्य प्रजातिको अवस्था सुधारः स्वस्थ वातावरण तथा समृद्धिको आधार भन्ने नाराका साथ वार्षिक उत्सव मनाइएको लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।

निकुञ्जले जंगली जनावरबाट क्षति पुगेका किसानहरूलाई राहातस्वरूप रकम वितरण गर्नुका साथै संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय संरक्षणकर्मी युवा प्रमोदकुमार तितुङ गरी ६ जनालाई सम्मान गरेको छ ।

लामटाङ राष्ट्रिय निकुञ्ज नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज हो । संघीय राजधानी काठमाडौंबाट नजिकको हिमाली राष्ट्रिय निकुञ्ज पनि हो । ९ चैत २०३२ मा स्थापना भएको यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ । रसुवाको ५७ प्रतिशत, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत भूभाग छ ।

निकुञ्जले संरक्षणसँगै मानव र जंगली जनावरबीचको द्वन्द्वलाई न्यूनीकरण गर्न पछिल्लो समय जनावरबाट नोक्सान भएका किसानहरूलाई राहत रकम उपलब्ध गराउँदै आएको छ । लामटाङ राष्ट्रिय निकुञ्ज पर्यापर्यटनका लागि देशकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेकाले निकुञ्जले धार्मिक, सांस्कृतिक, जैविक विवधतासँगै लोपोन्मुख वन्यजन्तुको समेत संरक्षण गर्दै आएको छ ।

निकुञ्जमा एक हजारभन्दा बढी प्रजातिका वनस्पति, रेडपाण्डा, हिउँ चितुवा, हिमाली कालो भालुलगायतका दुर्लभ वन्यजन्तुसमेत पाइन्छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङ, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका पर्यटकीय क्षेत्रसमेत यसै निकुञ्जअन्तर्गत पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>