मकवानपुर

मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण द्रुतगतिमा

Banner

हेटौंडा, फागुन २४–

मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ ।

यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ, भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ ।

गत वर्ष मंसिर १५ गते देशभरिका ३९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण कार्यअन्तर्गत मकवानपुरका पाँच स्थानीय तहमा पनि यसको निर्माण कार्य सुरु भएको बताइएको छ । इन्द्रसरोवर गाउँपालिकाबाहेक थाहानगरपालिका, राक्सिरागङ गाउँपालिका, मनहरि गाउँपालिका तथा कैलाश गाउँपालिकाले अस्पताल निर्माण कार्यलाई तीव्रता दिएको बताइएको छ ।

थाहा नगरपालिकामा १२ करोड ५६ लाख रुपैयाँको लागतमा थाहानगरको वडा नं ४ मा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख लवशेर विष्टले जग्गा खोजी र डीपीआर बनाउनका लागि समय खर्च भएपनि विसं २०८० को वैशाख महिनासम्ममा अस्पताल निर्माण भइसक्ने बताए ।

मनहरि गाउँपालिका–७ मनहरि बजारमा जीर्ण अस्पताल रहेको र त्यसलाई भत्काएर सोही स्थानमा १० करोड १५ लाख रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निमार्ण कार्य सुरु भएको छ । अस्पतालको जीर्ण भवन भत्काएपछि अस्थायी भवन निर्माणमा पनि समय लागेको थियो । अहिले नयाँ अस्पताल भवन निर्माण कार्य सुरु भएको सो गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी राक्सिरागङ गाउँपालिका–५ स्थित ठाडेभिरमा अस्पताल निर्माण कार्य गरिरहेको सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । जिल्लाको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाले ६ करोडको लागतमा १० शय्याको अस्पताल भवनको निर्माण कार्य अगाडि बढाएको बताउँदै उनले आगामी दुई वर्षभित्रमा त्यसको निमार्ण कार्य सम्पन्न हुने जानकारी दिए ।

यसैगरी जिल्लाको विकट क्षेत्र रहेको कैलाश गाउँपालिकाले पनि पाँच करोड ९२ लाख रुपैयाँको ठेक्का सम्झौता गरी १० शय्याको अस्पताल भवन निर्माण कार्य सुरु गरेको जनाएको छ । कैलाश गाउँपालिका–३ कालीटारमा निर्माण भइरहेको सो अस्पतालका लागि गत जेठमा ठेक्का सम्झौता गरी गत असोजबाट अस्पताल भवन निर्माण कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताए ।

यता इन्द्रसरोवर गाउँपालिकाले जग्गा अभावका कारण अहिलेसम्म अस्पताल भवनको निर्माण प्रक्रिया सुरु गर्न सकेको छैन । इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याम नजिक नेपाल विद्युत् प्राधिकरणको ७ रोपनी जग्गा उपयुक्त देखिए पनि गाउँपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरिएको छ । तर, प्राधिकरणको ढिलाइले अस्पताल निर्माणमा समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताए । इन्द्रसरोवरमा ८० लाख रुपैयाँको लागतमा पाँच शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>