देश/प्रदेश

श्रीमानले यातना दिएपछि एक महिला दुई महिनादेखि वनको झोपडीमा

  • Logo
    रासस
  • २० फाल्गुन २०७८, शुक्रबार
Banner

कञ्चनपुर, २० फागुन –
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आउनुभएको छ ।

सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आउनुभएको हो । बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उहाँ दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउनुहुन्छ ।

“श्रीमान्ले सधैँ कुटपिट गर्थे”, चौधरीले भन्नुभयो, “माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी लिएर श्रीमान बेपत्ता भएपछि वन क्षेत्रमा आएर बस्दै छु, सहारा कोही छैन ।” वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखेपछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झोपडी बनाइदिएका हुन् । चौधरीले नजिकैको गाउँबाट खाना मागेर खाँदै आउनुभएको छ ।

लगाउने ओढ्ने कपडासमेत मागेर गुजारा चलाउने गरेको चौधरीले बताउनुभयो । कृष्णपुर नगरपालिका–२ मा रहेका माइतीले समेत नहेरेपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको उहाँको दुःखेसो छ । वडाध्यक्ष दिलबहादुर बुढा एक्लै महिला वन क्षेत्रमा तुषरोसमेत नछेक्ने झोपडीमा बस्दै गरेको देखेपछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाएको बताउनुहुन्छ । “महिलालाई उद्धार गरी सहजरूपमा बसोवासको व्यवस्था मिलाउनका लागि परोपकारी संस्थाको खोजीमा लागेका छौँ”, उहाँले भन्नुभयो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>