देश/प्रदेश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाडौं,फागुन ६-
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ।
विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका प्रमुख प्रविन न्यौपानेले जानकारी दिए। ‘यो यात्रुभन्दा पनि बढी उपकरण रहने जहाज हो। आइकाओको डकुमेन्ट, परीक्षण उडान मापदण्डअनुसार उडान सञ्चालन हुन्छ’, उनले जानकारी दिए, ‘जहाज उडेपछि विभिन्न प्रकारका उपकरणहरूको परिक्षण हुन्छ।
परीक्षण उडानका क्रममा दिउँसो केहीबेर आन्तरिकतर्फका नियमित उडान प्रभावित हुनेछन्। भैरहवाबाट बिहान ७ वटा र साँझ १२ वटा नियमित उडान हुने गरेका छन्। दिउँसो ३ घण्टाजति नियमित उडान प्रभावित हुने न्यौपानेले बताए।



























