Breaking News

नारायणी नदीमा पाँच अर्ब लागतमा निर्माण हुने तटबन्धको दोस्रो चरणको ठेक्का आह्वान

Banner

चितवन, फागुन ४-

नारायणी नदीमा निर्माण गर्न लागिएको तटबन्धका लागि दोस्रो चरणको ठेक्का आह्वान भएको छ ।

नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरले बुधबार ठेक्काको सूचना जारी गरेको हो।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज बिहानै टेण्डरको सूचनासहित स्टाटस लेख्दै राम्रो कामको लागि  ठेक्का आव्हान भएको भन्दै भरतपुरबासीलाई बधाई दिएकी थिइन् । उनले स्टाटसमा भनेकी छन्, ‘ नारायणी नदीको तटबन्धको दोस्रो प्याकेज भरतपुर महानगरपालिका–१७ गाँजीपुरदेखि भरतपुर–२६ को हीरापुरसम्मको कंक्रिट ब्लक र माटो भर्न पाँच किमीको ९९ करोडको टेण्डर आव्हान भएको छ ।’

आज प्रकाशित सूचनामा नारायणी नदीमा पर्ने भरतपुर–१७ को गाजीपुरदेखि वडा नम्बर २६ को हिरापुरसम्म कंक्रिट ब्लक र माटो भर्ने कामसहितको ५ किलोमिटर सम्मका लागि ९९ करोड रुपैयाँ लागतको काम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

नारायणी नदीको भेल बर्सेनि वर्षामा बस्ती पस्ने गरेको छ । त्यसको रोकथामका लागि चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको हो । निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । यो क्षेत्र भरतपुर महानगरपालिका–२६ र २७ मा पर्ने पाँच किलोमिटरको छ । यसको काम प्राविधिक मूल्यांकनको प्रक्रियामा छ । बाँकी ३ खण्डको पनि यही महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गर्ने व्यवस्था गरिए अनुसार यो दोस्रो खण्डको ठेक्का आह्वान भएको हो। आयोजना प्रमुख रवीन्द्र थापाले कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध निर्माण गरिने बताए । ‘तीन मिटरदेखि ४.५ मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिने छ,’ उनले भने ।

अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भइसकेकाले अब बहुवर्षीय ठेक्कामार्फत् काम सम्पन्न हुने भरतपुर महानगरपालिकाले जनाएको छ । नदी तटबन्धका लागि तयार पारिएको गुरुयोजना सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको थियो । त्यसपछि अर्थले बजेटको स्रोत सुनिश्चता गरेको हो ।

त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको छ । सोमध्ये पहिलो चरणमा पाँच अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो। मन्त्रालयले चार अर्ब ७२ करोड बराबरको बजेटको स्रोत सुनिश्चतता गरेपछि आयोजनाको काम अघि बढेको हो ।

नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका एवम् विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन् । आयोजना प्रमुख थापाले गुरु योजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने बताए । चितवनका लागि ९ अर्ब ५५ करोड र नवलपरासीका लागि १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको थापाले जानकारी दिए । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध निर्माणको काम गरिसकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>