खेलकुद

चितवन जिल्ला लिगको फाइनल भोलि, पहिलो पटक उपाधि जित्ने दुवै टिमको लक्ष्यमा

Banner

चितवन, माघ ११–

सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि भिडन्त बुधबार हुँदैछ । उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन भिड्नेछन् ।

दुबै टोली उपाधि जित्दै ईतिहास रच्ने दाउमा छन् । दुबै टोलीले अहिलेसम्म जिल्ला लिग जित्न सकेको छैन । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनल खेल्दैछ । जिल्ला लिगमा बिएफसी यस अघि समूह चरण भन्दा माथि पुग्न सकेको थिएन ।

आज (मंगलबार) आयोजित प्री म्याच कन्फिरेन्समा बोल्दै बिएफसीका मुख्य प्रशिक्षक धुर्ब भुसालयस अघि पहिलो पटकको फाइनल भिडन्तमा नै बिजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिने बताए । समूह चरणमा गरेको शशक्त प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिने उनले बताए । उपाधि जित्नका लागि टिमले निकै मेहेनत गरेको उनको भनाइ थियो ।

टिमको सबै खेलाडी फाइनलका लागि फिट रहेको उनले बताए । फर्वाड राज भुसालको फिटनेस बारे सोधिएको प्रश्नमा प्रशिक्षक भुसालले फाइनलका लागि उनी फिट हुने बताए । उनी टिमका लागि निकै महत्वपूर्ण खेलाडी भएकोले सुरुवाती ११ मा नै मैदान उत्रिने भुसालले बताए । सुरुवाती ११ मा भोलि केही परिवर्तन हुन सक्ने समेत उनले बताए । फरक प्रसँगमा यस पटकको जिल्ला लिगको व्यवस्थापन अहिलेसम्मकै उत्कृष्ट भएको उनको भनाइ थियो ।

बिएसीका कप्तान सन्दीप सेन्चुरीले टिमका सबै अनुभवि खेलाडी आफुहरुको बलियो पक्ष भएको बताए । उनले सुरुवाती ११ मा खेल्ने सबै खेलाडी महत्वपूर्ण भएको प्रतिक्रिया दिए । पहिलो पटक फाइनल खेल्दाको दबाब कत्तिको छ भने प्रश्नमा उनले भने, ‘त्यती धेरै दबाब छैन । बरु अवसरको रुपमा लिएका छौं । हामी जित्नका लागि खेल्छौ ।’

एभरेष्टका कप्तान मनिष आले मगरले लिग जित्नु नै आफुहरुको मुख्य लक्ष्य भएको बताए । एभरेष्ट चौथो पटक लिगको फाइनलमा प्रवेश गरेको हो । यस अघिका तीन संस्करणमा फाइनल पुगे पनि एभरेष्टले उपाधि जित्न सकेको छैन । एभरेष्ट तिनै पटक फाइनलमा नारायणगढ फुटबल क्लबसँग पराजित भएको थियो ।

तीन पटकसम्म फाइनलमा व्यहोरेको हारको श्रिखंला यसपटक टुङ्गाउने लक्ष्यका साथ मैदान उत्रिने उनले बताए । ‘यस पटक लिग जित्ने बाहेक अरु हामीले सोचेकै छैनौं । यस अघि हामी तीन पटकसम्म फाइनल पुगेर हारेका छौं, उनले भने, यो हाम्रो मात्रै सपना होइन, सिनियर दाईहरुको पनि सपना हो । सबैको सपना हामीले पुरा गर्नुछ ।’

टिमवर्क आफुहरुको बलियो पक्ष भएको उनको भनाइ थियो । दुबै टिम बलियो भएको भन्दै लिग जित्नु नै आफुहरुको एक मात्र लक्ष्य भएको उनले बताए । फर्वाडद्धय आशिष गजुरेल र रोशन क्षेत्रीबाट टिमले ठूलो अपेक्षा गरेको उनले बताए ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की र महासचिव रामहरी ढकालले दुबै टिमलाई जितको शुभकामना दिए । फाइनल पुगेका दुबै टिम बलियो भएको भन्दै खेल प्रतिस्पर्धात्मक हुने उनीहरुको भनाइ थियो । यसपटक जिल्ला लिगको व्यवस्थापकिय पक्षमा धेरै नयाँ प्रयोग गरिएको महासचिव ढकालले बताए ।

फाइनल भोलि दिउँसो १ बजे हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५(२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ ।

लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच(पाँच हजार प्राप्त गर्नेछ ।

यस्तो छ दुबै टिमको अहिलेसम्मको प्रदर्शन

फाइनलमा पुगेका बिएफसी र एभरेष्ट दुबै टोली आआफ्नो समूहबाट बिजेता भन्दै अघि बढेका हुन् । बिएफसी समूह ‘ए’ को बिजेता हो भने एभरेष्ट समूह ‘बी’ को बिजेता हो । लिगमा दुबै टोलीले सानदार सुरुवात गरेको थियो ।

बिएफसीले लिगको पहिलो खेलमा नै नारायणगढ फुटबल क्लब एनएफसीलाई ४–० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । बिएफसीले समूह चरणका ६ मध्ये पाँच खेलमा जित हात पारेको थियो । सौराहासँग भने बिएफसी ३–२ ले पराजित भएको थियो । सेमिफाइनलमा रामपुर फुटबल क्लब रड्सलाई ५–३ ले पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो । लिगमा अहिलेसम्म १९ गोल गरेको बिएफसीले ६ गोल मात्रै खाएको छ ।

उता एभरेष्टले लिगको पहिलो खेलमा नारायणी एफसीलाई ४–१ ले पराजित गरेको थियो । एभरेष्टले समूह चरणका पाँच मध्ये चार खेलमा जित हात पारेको थियो । एक खेलमा भने एभरेष्ट पराजित भएको थियो ।

एभरेष्ट समूह चरणमा बगान यात्रा ग्रुपसँग १–० ले पराजित भएको थियो । सेमिफाइनलमा एभरेष्टले समूह ‘ए’ को उपबिजेता सौराह युवा समाजलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लिगमा अहिलेसम्म १६ गोल गरेको एभरेष्टले ६ गोल खाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>