Breaking News

मौलाकालिका केबलकार : रुख कटान सकियो, जग बनाउने काम सुरु हुँदै

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
नवलपुर, माघ ५ –
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर जानका लागि केबलकार निर्माण गर्ने कार्य भइरहेको छ ।

केबलकार निर्माण गरिरहेको मौलाकालिका केबलकार प्रालिका सञ्चालक एवम् उद्योग वाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आज निर्माणस्थलको आवलोकन गरेका छन् ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै ढकालले अनुमित लिनुपर्ने सबै काम सकेर रुख कटान पनि सकिएको बताए । उनले अबको एक हप्तामा बेस (जग) निर्माणको काम सुरु हुने बताए । बेस बनाउनका लागि हाल नाप्ने काम भइरहेको छ । आइएमई गु्रपका अध्यक्ष समेत रहेका ढकालले एक वर्षमा केबलकार निर्माण सम्पन्न हुने बताए । ‘आगामी पुषसम्ममा केबलकार चढेर मौलाकालिका आउन सकिन्छ’ उनले भने ।

होटल निर्माण सम्पन्न हुन भने दुई वर्ष जति लाग्न सक्ने ढकालको भनाइ छ । उनले केबलकारको टप स्टेशनमा स्तरीय होटल बन्ने बताए । मौलाकालिकामा रहेको हेलिप्याडमा टप स्टेशन बनाइँदै छ । उनले टप स्टेशनमा ४ तले भवन बनाएर त्यसको माथिल्लो तलामा हेलिप्याड बनाइने बताए । होटल, रेष्टुरेण्ट र स्वमीङ पुल टप स्टेशनमा बन्ने भवनमै हुनेछन् । ५० देखि ६० बेडको ४ स्टार लेभलको होटल बन्ने उनले बताए ।

केबलकार निर्माणमा डेढ अर्बको लागत लाग्ने अनुमान गरिएको बताउँदै ढकालले जसमा ४९ प्रतिशत स्थानीयको र ५१ प्रतिशत आफ्नो कम्पनीको हुने बताए ।

१.२ किलोमिटरको रहने केबलकारमा ६ वटा पिल्लर र १२ वटा डब्बा (गोन्डोला) राखिने छ । ५÷७ मिनटको केबल कार यात्रामा मौलाकालिका पुग्न सकिने ढकाल बताउँछन् । केबलकारले मन्दिर आउने चाहना हुँदाहुँदै पनि वृद्ध भएकै कारण आउन नसकेका बाआमाहरुलाई सबैभन्दा बढी लाभ पुग्ने ढकालले बताए ।

यस्तै केबलकार निर्माणले यो क्षेत्रकै पर्यटकीय विकास हुने विश्वास लिइएको ढकालले बताए । चन्द्रागिरीको उदाहरण दिँदै उनले भने, ‘चन्द्रागिरीमा केबलकार लगेपछि त्यो क्षेत्रको धेरै विकास भयो । होटल, हामेस्टेहरु बने । जग्गाको मूल्य बढ्यो । स्थानीयको जीवनस्तर नै उकासिएको छ ।’ केबलकार निर्माणमा गैंडाकोटका स्थानीयहरुको पूर्ण साथ र सहयोग पाएको उनले बताए ।

केबलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केवलकारको मार्गमा पर्ने करिब एक हजार ३८ वटा रुख काटिएको छ । केबलकारले ओगट्ने क्षेत्रको जग्गा गैंडाकोटमै अन्यत्र खरिद गरेर सरकारलाई प्रदान गरिएको बताउँदै ढकालले त्यहाँ वृक्षारोपण पनि गरिदिने बताए ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले केबलकार निर्माण भएपछि गैंडाकोट पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताए । उनले अब मौलाकालिका पुग्न ३÷४ वटा बाटा बन्ने बताउँदै यो खुसीको कुरा भएको बताए । मौलाकालिका मन्दिरमा हाल करिब आधा घण्टाको उकालो चढेपछि पुग्न सकिन्छ भने सडकमार्ग भएर आधा घण्टाको यात्रामा साना सवारी साधनमा पुग्न सकिन्छ ।

मौलाकालिका मन्दिरमा नयाँ वर्ष, बढा दशैं र चैते दशैैंका बेला धेरै भिड लाग्ने गर्छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुराज रिमालले नयाँ वर्षको दिनदेखि बैशाख महिनामा करिब डेढ लाख भक्तजन मन्दिरमा आउने गरेको बताए । यस्तै अन्य बारभन्दा शनिबारका दिन धेरै मानिसहरु मौलाकालिका आउने गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>