देश/प्रदेश

भक्तपुरमा मानव अधिकार हननका घटनामा वृद्धि

Banner

भक्तपुर, पुस १८-

भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ । सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो ।

गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को जिल्ला शाखाले सङ्कलन गरेको तथ्याङ्कानुसार गत वर्ष सात जनाको हत्या भएको र छ जनाको हत्या प्रयास भएको थियो ।

त्यसैगरी बालिका १९ र महिला २४ गरी ४३ जनामाथि बलात्कार भएको र आठ जना बलात्कार प्रयासबाट पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै बाल यौन दुव्र्यवहारबाट १०, बहुविवाहबाट ११ महिला पीडित भएका थिए भने मानव बेचबिखनबाट छ, घरेलु हिंसाबाट पाँच, आत्महत्या दुरुत्साहनमा तीन जना पीडित भएका थिए । गत वर्ष ५८ जनाले आत्महत्या गरेका थिए ।

भक्तपुर सानो जिल्ला भए पनि यो तथ्याङ्कलाई हेर्दा यहाँ बलात्कार, बलात्कार प्रयास, हत्या र आत्महत्या डरलाग्दोरूपमा बढेको जानकारी दिँदै उहाँले बलात्कार रोक्न, आत्महत्या रोक्न सुरक्षा निकाय र स्थानीय तहले वडावडामा सचेतना कार्यक्रम गर्नुपर्ने, मनोपरामर्शको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । सन् २०२० मा आठको हत्या भएको, ३२ बलात्कारका घटना भएका र घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए ।

यसबारे जानकारी लिँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशतले हिंसा बढेको बताउँदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको जानकारी दिनुभयो । बहुविवाह र बालविवाहका कारण उनीहरुबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेका र आफ्नो पहिचान पाउन नसकेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले पछिल्लो समय हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना बढेको जानकारी दिनुभयो । कुनै पनि अपराधको मुख्य कारण आर्थिक पक्षसँग जोडिएर आउने गरेको भन्दै उहाँले मादक पदार्थ तथा लागुपदार्थको बिक्रीवितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने भएकाले अपराध न्यूनीकरणका लागि समाज जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>