नवलपुर

एसपीएम कलेजको अध्यक्षमा महेन्द्रभक्त

Banner

नवलपुर, पुस १४–

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ का सांसद एवम् गण्डकी प्रदेश विधायन समिति सभापति बिष्णुप्रसाद लामिछानेले शिक्षामा एक दिन मात्रै पनि ढिलाई हुँदा रुपान्तरणको एउटा युग वित्ने बताउनु भएको छ।

सूर्यभक्तपतनादेवी मेमोरियल कलेजको १६औं वार्षिकोत्सव तथा प्रथम क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले शिक्षाको गुणस्तर सुधारमा ढिलाई गर्न नहुने बताउनुभयो । ‘सडक ,बाटो र सञ्चार एक वर्ष ढिला गरे भौतिक दुख हुने हो’ सांसद लामिछानेले भन्नुभयो ,‘शिक्षामा एक दिन ढिला हुँदा एउटा युग पछि पर्छ ।’

गण्डकी प्रदेशमा शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन प्रदेश सरकारको भूमिकामा पछि नहट्ने उहाँले बताउनुभयो । सूर्यभक्तपतनादेवी मेमोरियल कलेजले क्रान्तिको एक ईतिहास सम्झाउने गरेको उल्लेख गर्दै शैक्षिक विकासमा पनि उत्तिकै योगदान पुगेको बताउनुभयो । राजनीतिक वृत्तमा सूर्यभक्त अधिकारीको योगदानको चर्चा भईरहने भन्दै उहाँको स्मृतिमा बनेको कलेजले यहाँको समाज, जिल्ला र प्रदेशको आवश्यकता अनुकुलको शिक्षालाई प्राथमिकतामा राख्न सुझाउनुभयो । ‘यो कलेज आफैंमा ईतिहासको संरक्षक हो,’ उहाँले भन्नुभयो, ‘यसले जीविकोपार्जनमा मदत पुग्ने सीपमुलक शिक्षाको मागलाई पूरा गर्ने गरि कार्ययोजना अघि बढाउन र छलफल चलाउन जरुरी छ ।’

कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णुमाया कंडेलले गैंडाकोटको एक मात्र सामुदायिक कलेजले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताइन् । आफ्नै समिपमा कलेज हुँदा विद्यार्थी र अभिभावकलाई भएको सहजताको बयान पढ्नकै लागि घर छोड्नुपरेकाहरुले गर्दै आएको उहाँले बताउनुभयो ।

कलेजको वार्षिकोत्सबको अवसर पारेर सुर्यभक्त अधिकारीकोबारेमा लेखिएको पुस्तक ‘प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त अधिकारी’ विमोचन गरिएको छ । पुस्तकका लेखक प्राध्यापक डाक्टर ज्ञानेन्द्र पौड्यालले राजनीतिक वृत्तमा सम्मानित व्यक्ति सूर्यभक्त अधिकारीको जीवनका आरोह अवरोह समेटेको बताउनुभयो ।

सोही अवसरमा मानवीकिसंकाय स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरुले प्रकाशन गरेको एसपीएम सन्देश नामक त्रैमासिक पत्रिकाको पनि विमोचन गरिएको छ । निकै सकसपूर्ण अवस्थामा कलेज सञ्चालन गर्नुपर्ने बाध्यता भए पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सम्भव भएसम्म कुनै कसर बाँकी नराख्ने प्राचार्य दिपेन्द्र पौडेलले बताउनुभयो ।

कार्यक्रममा कलेजमा लामो समयदेखि संलग्न रहेका शिक्षक,कर्मचारीलाई सम्मान गरिएको शिक्षा संकाय प्रमुख माधव सिग्देलले जानकारी दिनुभयो । कलेजका संस्थापक अध्यक्ष एवम् संरक्षक मदनभक्त अधिकारी, सञ्चालक समितिका उपाध्यक्ष नीलकण्ठ मरासिनी, नेपाली कांग्रेस गैडाकोट नगरसभापति बद्री सापकोटालगायतको उपस्थिती रहेको कार्यक्रमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कलेजको बुधबार सम्पन्न प्रथम सभाले महेन्द्रभक्त अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको छ । अन्य पदाधिकारी मनोनित गर्ने गरि प्रक्रिया अघि बढाईनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>