अपराध
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौँ, मंसिर २९-
नेपाल प्रहरीले जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ४५ लाख ५० हजार जरिवाना तोकेपछि फरार रहेका ललितपुर महानगरपालिका–२१ बस्ने ४२ वर्षीय अमर महर्जनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका महर्जनले आफ्नो मेघा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।
उच्च अदालत पाटनको वि सं २०७८ असोज ८ गतेको फैसलापछि चार दिन कैद र बिगोबमोजिम ४५ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका महर्जनलाई शंखमूलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
त्यस्तै उच्च अदालतले महर्जनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो।



























