गण्डकी

गुफाभित्र पाहुनाघर सञ्चालन

Banner

म्याग्दी, मङ्सिर २८-

मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा गुफाभित्र गेष्ट हाउस (पाहुनाघर) सञ्चालन भएको छ । छोसेरका पेमा घिर्मी गुरुङले सेल्ता गुफाभित्र पर्यटक बासबस्न मिल्ने पाहुनाघर सञ्चालन गर्नुभएको हो । सेल्कार नामाकरण गरिएको सो पाहुना घरमा चार वटा कोठा छन् । एक वटा कोठामा छ र तीन वटा कोठामा दुई÷दुई वटा बेड भएको पाहुनाघरमा एक दिनमा १२ बास बस्न सक्छन् ।

बाबुबाजेको पालादेखि प्रयोग गर्दै आएको गुफालाई मर्मत सम्भार गरेर पर्यटक लक्षित पाहुनाघर सञ्चालन गरेको उहाँले बताउनुभयो । पहाडको बिचमा रहेको गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग, दुई वटा प्रवेशद्वार बनाउनुभएको छ । गुफाभित्रको कोठामा बत्ती र पानीको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

झ्यालमा पुराना ऐतिहासिक भाडावर्तनका सामग्री राखिएका छन् । गुरुङको गुफाको गेष्ट हाउस बाहेक साधारण आठजना क्षमताको गेष्ट हाउस पनि छ । गुफाभित्र र बाहिर पाहुनाको रुची अनुसार बास बस्न पाउँछन् । बाहिर खाना खाएर सुत्नका लागि गुफाको पाहुना घरमा जाने ब्यवस्था मिलाइएको छ ।

गुफा गुरुङको व्यक्तिगत जग्गामा पर्छ । गुफाभित्र बास बसेको प्रतिकोठाको रु तीन हजारदेखि सात हजार शुल्क कायम गरेका छन् । “उपल्लो मुस्ताङ र कोरला नाका घुम्न आउने पर्यटकलाई आकर्षित गर्न गुफामा पाहुनाघर चलाएको हो,” उहाँले भन्नुभयो “धेरै पाहुनाले अनौठो मानेर बस्न आउनुहुन्छ ।”

जोमसोम–कोरला सडकको छोसेरबाट पूर्वतर्फ २० मिनेट पैदलयात्रा गरेपछि पाहुनाघरमा पुग्न सकिन्छ । गुफामा बास बसेर फर्किएका म्याग्दीका सन्दिप सुवेदीले अनौठो र रमाइलो अनुभव गरेको जानकारी दिनुभयो ।

उपल्लो मुस्ताङका गुफाको इतिहास मानव सभ्यताको विकाससँग जोडिएको छ । परापूर्वकालमा उपल्लो मुस्ताङका बासिन्दा गुफामा बस्दथे । बसोबासका लागि पहाड खोपेर गुफा बनाएका थिए । चेतनाको विकास र परिवार सङ्ख्या वृद्धिसँगै घर बनाएर बस्न थालेका हुन् ।
गेष्ट हाउस सञ्चालन भएको सेल्ता गुफा भन्दा केहीमाथि पाँच तला र १४४ वटा कोठा भएको झोङ गुफा छ । तिब्बतीहरुको आक्रमणबाट बच्नका लागि छोसेरका बासिन्दा झोङ गुफामा गएर बसेको स्थानीय बुढापाकाको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>