देश/प्रदेश
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मान्म, मङ्सिर २२-
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएपछि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँ नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । “कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो”, भट्टराईले भन्नुभयो । नरहरिनाथ गाउँपालिका घर भएका उहाँ कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।
मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणा
बलेवा : बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ भने पौडेल संविधानसभा सदस्य रहिसक्नुभएको छ । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुनुहुन्छ । उहाँहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । रासस



























