क्रिकेट
टि–२० विश्वकपः दक्षिण अफ्रिकाले इङल्याण्डलाई १० रनले हरायो

काठमाडौँ, कात्तिक २०–
युएईमा जारी टि–२० विश्वकप अन्तरगत सुपर १२ को समूह ‘ए’को अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । इङल्याण्डलाई १० रनले पराजित गर्दै दक्षिण अफ्रिकाले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।
आज जित हात पारे पनि रनरेटको आधारमा दक्षिण अफ्रिका सेमीफाइनल प्रवेश गर्न बञ्चित भयो । १९० रनको लक्ष्य पछ्याएको इङल्याण्ड ८ विकेटको क्षतिमा १७९ रन जोड्यो । उसका लागि मोइन अलीले सर्वाधिक ३७ रन र डेभिड मलानले ३३ रन बनाए ।
दक्षिण अफ्रिकाका कागिसो राबाडाले ह्याट्रिक विकेट लिए । पहिलो तीन ओभरमा महंगो सावित भएका राबाडा अन्तिम ओभरमा पहिलो तिन बलमा लगातार विकेट लिदै ह्याट्रीक पुरा गरे । जारी विश्वकपमा ह्याट्रिक विकेट लिने राबाडा तेस्रो बलर हुन् । तबरेज शम्सी र ड्वेन प्रिटोरियसले समान २÷२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको दक्षिण अफ्रिका २ विकेटको क्षतिामा १८९ रन बनाएको थियो । उसका लागि भ्यान डर डुसेनले अविजित ६० बलमा ९४ रन बनाए भने एडेन मार्करामले अविजित २५ बलमा ५२ रन बनाए । क्विन्टन डे ककले ३४ रन बनाए ।
इङल्याण्डका आदिल रशीद र मोइन अलीले समान एक/एक विकेट लिए ।
























