चितवन विशेष
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन,असोज ३१-
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा डा गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन् ।
डा देवले भन्नुभयो, “दसैँका समयमा पनि चितवन मेडिकल कलेजले आफ्नो सेवालाई निरन्तरता दिनेछ । हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ । तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, सेवा दिन तयार छौँ ।”
चाडपर्वका समयमा हुनसक्ने दुर्घटनाका घाइते, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका समस्या बढी देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आकस्मिक कक्षबाटै उपचार सेवा दिने व्यवस्था गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्नसक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने भएकाले बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो , “आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिनुपर्ने बिरामीलाई पनि सेवा दिने गरी तयारी गरेका छौँ ।” पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्नसक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा पनि उत्पन्न हुनसक्ने भएकाले अस्पतालले सेवा सञ्चालनलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।























