देश/प्रदेश

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

Banner

महोत्तरी, कात्तिक ६-
दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने भएको हुँदा यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले खुसी छाएको हो ।

वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरुको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हाँमी गरिबका घरमा पनि हुन्छन्”, पर्व विशेषका लागि चोयाको छिटी बुन्न तल्लिन भङ्गाहा नगरपालिका–५ सिद्धपुरसँगैको डोम बस्तीका रमुवा मरिकले भन्नुभयो, “यी रहर चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आश साचेका हुन्छौँ ।” तिहार र छठ नजिकिँदै आउँदा डोम बस्तीका ससाना नानीको अभिभावकसँगको फर्माइस (माग) पनि दिनहुँजसो बढी रहेको हुन्छ । “बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा” (बुबा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबीरङ्गी चङ्गा ल्याइदिनुहोला) चोया बटार्न व्यस्त बर्दिवास नगरपालिका–१ की बासिन्दा आमा रतिया मरिकसँग उहाँका सात वर्षीय छोरा कपिलको माग छ । दीपावली र छठमा गुड्डी ९चङ्गा० उडाउने सपना साचेका सो समुदायका वालवालिका पर्वमा बाबु÷आँमाले मीठामीठा खानेकुरा ल्याइदिने धाकसमेत अन्य समुदायका समवयस्कसँग लगाइरहेका देखिन्छन् ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका उक्त समुदाय ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइरहेका छन् । चरम गरिबी र अशिक्षाले जकडिएका सो समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आफूहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्वप्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको उनीहरु बताउँछन् ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाभरिमा एक हजार ५० (हाल यो सङ्ख्या तीन हजारको हाराहारी रहेको अनुमान छ)मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् । मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका यो समुदायले नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोसेली बनाउने, ससाना नानीको रहर पूरा गरेर वर्षको पछिसम्म नुनतेलको जोहोसमेत तिहार र छठको कमाइबाट गर्ने गरेको बताउँछन् । “के गरौं हजुर-१ ससाना नानीहरु गाउँतिर खेल्न जाँदा बस्तीका हुनेखानेका नानीहरुका हातमा जे देख्यो घर आएर त्यस्तै सामानको फर्माइस गर्छन्”, लोहारपट्टि नगरपालिका–१ बगडाको दलित बस्तीकी शैली मरिकले भन्नुभयो, “यी सबै नानीहरुका रहर हामीले तिहार र छठको कमाइबाट केही न केही पूरा गर्नुपर्ने हुन्छ ।”

मुलुकमा अवसरबाट पछि परेका सीमान्तकृत जाति समुदाय, गरिब र दलितको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका उक्त जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताले टिप्पणी गरेका छन् । सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की सामाजिक कार्यकर्ता हीरादेवी दाहालको टिप्पणी छ । रसस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>