चितवन विशेष

देवघाटमा ६५ लाखको लागतमा बन्ने आयुर्वेदिक अस्पताल भवनको शिलान्यास

Banner

चितवन, कात्तिक ४-

देवघाटमा बन्ने आयुर्वेदिक अस्पताल भवनको शिलान्यास भएको छ ।

उक्त भवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज शिलान्यास गरेकी हुन् ।

नौं कोठे आरसीसी भवनको शिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवातर्फ विशेष ध्यान दिन आग्रह गरिन् । उनले भरतपुरमा कोही पनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र विस्तारमा जोड दिएको बताइन् । आयुर्वेदिक चिकित्सा पद्धति पुरानो र महत्वपूर्ण रहेको बताउँदै उनले वडा नं १४ शिवनगरमा ५० शैयाको आयुर्वेदिक अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइएको बताइन् । उनले यस अस्पताललाई प्रदेश सरकारसँग समन्वय गरी १०० शैंयामा स्तरवृद्धि गर्ने प्रक्रिया पनि अगाडि बढाइएको दाबी गरिन् ।

शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने र त्यसलाई समयमै गुणस्तरीय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारु गर्न प्रमुख दाहालले आग्रहसमेत गरिन् । महानगर प्रमुख दाहालले निर्माणाधिन आयुर्वेदिक औषधालयले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुग्ण राख्नुका साथै यस क्षेत्रको विकासमा अझै महत्वपूर्ण हुने उल्लेख गरिन् ।

सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानीय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए ।

स्थानीयबासीको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र शारदानगर र शिवनगरमा अस्पताल सञ्चालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिलान्यास कार्यक्रम महानगरपालिका वडा नं. १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै भरतपुर महानगरपालिकाले नगरबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालयहरू निर्माण गरि सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>