देश/प्रदेश

मानवकल्याण समाजको पहिलो बाल शाखा सञ्चालन

Banner

भक्तपुर, २४ असोज-

बाबुआमा नभएका, घरबार नभएका र घर छाडेर अलपत्र परेका अनाथ बालबालिकाको संरक्षणका लागि सञ्चालित मानवकल्याण समाज (सेवा घर)को पहिलो बाल शाखा सञ्चालनमा आएको छ ।

सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा भाडाको घरमा ३५ बालबालिका रहेको बाल शाखाको नगर उपप्रमुख जुना बस्नेतले उद्घाटन गर्नुभयो । उहाँले सडकमा घरबारविहीन भएर हिँडेका सडक मानवलाई आश्रय दिनु कम चुनौतीको विषय नभएकाले यस्ता सामाजिक कार्यमा लाग्नेलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नै छोराछोरीले घरबाट निकालेका ती आमाबाबुलाई सडकबाट उठाएर स्वास्थ्य उपचारदेखि पालनपोषणसम्म गर्ने राज्यको दायित्वलाई संस्थाले बोकेकाले राज्यले पनि सहयोग गर्नुपर्ने उहाँले औल्याउनुभयो । सो नगरपालिकाले आमाबाबुलाई हेला गर्ने, घरबाट निकाल्ने र पालनपोषण नगर्ने छोराछोरीको सम्पूर्ण सिफारिस रोक्ने निर्णय गरेको बताउनुभयो ।

सडक मानवमुक्त गर्ने उद्देश्यका साथ जिल्लाको झौखेलमा रहेको मानवकल्याण समाज ९सेवा घर०ले घरबारविहीन, सन्तानबाट विछोडिएका, सडकमा रहेका मनोरोगी, यौन दुव्र्यवहारमा परेकालगायत असहाय व्यक्तिका लागि गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको छ ।

विसं २०७५ वैशाख २४ गतेदेखि भक्तपुरमा औपचारिक रुपमा सञ्चालनमा आएको समाजले हाल काभ्रेको धुलिखेल र दाङमा पनि शाखा विस्तार गरेको छ । भक्तपुरको नलिञ्चोकमा बाल शाखा सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष सुमित्रा चौलागाईले बताउनुभयो । हाल मानवकल्याण समाजको ९सेवा घर०मा झौखेलमा ६५, काभ्रेको धुलिखेलमा ४५ र दाङमा ३५ जनाले आश्रय लिइरहेका छन् भने नलिञ्चोकको बाल शाखामा ३५ बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।

सेवा घरमा अहिलेसम्म ५०० बढीको उद्धार गरिसकिएको, २०० जनालाई परिवार खोजी गरी पुनःमिलन गराइएको र ३८ जनाको सेवा घरमै निधन भएपछि प्रहरी प्रशासनको सहयोग दाहसंस्कार गरिएको उहाँले बताउनुभयो ।

सङ्घीय, प्रदेशदेखि स्थानीयतहसम्म अहिलेसम्म आर्थिक सहयोग नगरेको यो संस्थालाई भक्तपुर तथा आसपासका जिल्लाका विभिन्न व्यक्तिले जन्मदिन, विवाहोत्सव, पितृको पुण्य तिथिलगायत बेलामा भोजन गराउने, विभिन्न सामग्री सहयोग गर्ने र दाताले दिएको सहयोगबाटै अहिलेसम्म सञ्चालन गर्दै आएको छ ।

प्रहरीदेखि अन्य सरकारी निकायसम्मले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उद्धार र संरक्षण गर्नुपरेमा सेवा घरलाई नै जिम्मेवारी दिने गरेका छन् । उद्धार गरिएकालाई सेवा घरमा पु¥याएपछि व्यक्तिगत सरसफाइ गर्ने, स्वास्थ्य परीक्षण गर्ने, पोशाक परिवर्तन गर्ने, सेवा घरमा राख्ने र मनोपरामर्श दिने गर्दै आएको छ ।

सूर्यविनायक–१० का वडाध्यक्ष शिवराम राउतले मानवीय उद्धारमा लागेको यो संस्था स्थायित्वका लागि भवन निर्माण गर्न सार्वजनिक जग्गाको व्यवस्था गर्न वडाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गीता देउजा, गैर सरकारी संस्था महासङ्घका अध्यक्ष नारायण न्यौपाने, बाल सङ्गठनका अध्यक्ष राजेश खड्का, श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रका प्रमुख संरक्षक गुरु अरविन्द शास्त्री, कलाकार मनिष राउत, कमेडी च्याम्पियन हिमेश पन्त, मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्कालगायतले समाजलाई निरन्तर सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>