देश/प्रदेश
राससकर्मी रायमाझीलाई ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार

सिद्धार्थनगर, असोज २२-
राष्ट्रिय समाचार समिति (रासस) का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गर्नुभएको छ ।मोफसलमा रहेर १३ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका उहाँले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आलेख, खोजी तथा अनुसन्धानमूलक लेख र समाचार सम्प्रेषण गरेबापत् उक्त पुरस्कार प्रदान गरिएको हो ।
अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले आफ्नो आमाको सम्झनामा स्थापना गर्नुभएको रु ५० हजार राशिको सो पुरस्कार यसअघि कान्तिपुरका दीपेन्द्र बडुवाललाई प्रदान गरिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उक्त पुरस्कार प्रदान गर्दै पत्रकारले राजनीतिकर्मीलाई लेख रचना तथा समाचारका माध्यमबाट घचघच्याइरहे पर्यटन विकासमा छिट्टै फड्को मार्ने बताउनुभयो । पर्यटन क्षेत्रमा अब्बल लेख रचना र समाचार सम्प्रेषण गरे यसको विकासमा टेवा पुग्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकार सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले पत्रकारले कलम चलाएकै भरमा देश तथा नगरको मुहार फेर्न बल पुग्ने भएकाले समाचारमा समस्या मात्र नउठाइ समाधानका लागि विकल्प दिन पनि आग्रह गर्नुभयोे । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल सरकारले पनि पर्यटन विकासका सम्भावित गन्तव्य पहिचान गरी प्रवद्र्धन गरेमा विकासले फड्को मार्ने बताउनुभयो ।



























