Breaking News

मेसु र अध्यक्ष नै निजीमा व्यस्त हुँदा भद्रगोल बन्यो भरतपुर सरकारी अस्पताल, निजी जान बाध्य छन् गरिब बिरामी

  • Logo
    app haru
  • १० आश्विन २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज १० –
मध्य नेपालमा अवस्थित चितवन जिल्लामा रहेको एउटा ठूलो केन्द्रीय स्तरको सरकारी अस्पताल हो भरतपुर अस्पताल ।

देशकै तेश्रो ठूलो सरकारी अस्पतालका रुपमा परिचित छ यो अस्पताल । यस अस्पतालमा १९ वटा जिल्लाका बिरामीहरु दैनिकजसो आउने गरेका तथ्यांक छ । मेडिकल सिटीका रुपले परिचित रहेको भरतपुरमा भरतपुर अस्पतालसहित दुई वटा मेडिकल कलेज, एउटा सरकारी क्यान्सर अस्पताल, आँखा अस्पताल ठूला अस्पतालका रुपमा रहेका छन् । यसका अलवा चितवनमा २० वटा निजी अस्पताल छन् । जसमा १५ देखि २०० शय्या (बेड) रहेका छन् । १५ बेडभन्दा कमका पनि थुप्रै अस्पताल छन् ।

सरकारी भरतपुर अस्पतालमा काम गर्ने चिकित्सक (डाक्टर) कुनै न कुनै रुपमा निजी अस्पतालमा आवद्ध छन् । कोही निजी अस्पतालका लगानीकर्ता छन् भने कोही निजीमा पनि काम गर्ने जागिरे छन् ।

अहिले भरतपुर अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्ट (मेसु) पनि निजी अस्पतालकै छन् । उनीहरु निजीमै व्यस्त देखिँदा सरकारी अस्पताल भद्रगोल बनेको छ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी पुष्पाञ्जली अस्पताल प्रालिका सञ्चालक हुन् । उनी प्राय जसो पुष्पाञ्जली अस्पतालमै बिरामी जाँचिरहेको भेटिन्छन् । उनी अस्पताल विकास समितिको अध्यक्ष हुनुपूर्व भरतपुर अस्पतालका आठौं तहका चिकित्सक समेत हुन् । उनी तीन वर्षे कार्यकालको अध्यक्ष भएपछि अधिकारीले अस्पतालमा तीन वर्षका लागि आफ्नो बिदा आफैले स्वीकृत गरेका छन् । अर्थात तीन वर्षपछि अध्यक्षबाट हटेपछि पुनः सरकारी अस्पतालको आठौं तहमा जागिर खान पाउने व्यवस्था मिलाएका छन् । यसरी आफ्नो बिदा आँफैले स्वीकृत गरेर उनले अस्पतालमा बिदा बस्ने व्यवस्था मिलाएका छन् ।

अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलको भरतपुर सामुदायिक अस्पताल प्रालिमा लगानी रहेको छ । उनी वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ हुन् । उनले उक्त निजी अस्पतालमा अहिले पनि बिरामी जाँचिरहेका छन् । नारायणी अनलाइन खोज स्रोतले मेसु पौडेल निजी अस्पतालमा अझै पनि बिरामी जाँचिरहेको तथ्य प्रस्तुत गरेको छ । सरकारी अस्पतालको मेसु जस्तो पदमा रहेर पनि उनी अझै निजी अस्पतालमा पुग्दा सरकारी अस्पतालाई कसले व्यवस्थापन गर्ने ? अनि कसरी सुध्रन्छ भरतपुरको भद्रगोल अवस्था ? यो प्रश्न अहिले अनुत्तरित बनेको छ ।

निजीमा लगानी रहेका चिकित्सकहरु सरकारी अस्पतालको सिमित तलबमा काम गर्न किन पुग्नछन् त ? भनेर खोज गर्दा सरकारी अस्पतालमा आएका बिरामी तानेर विभिन्न बाहनामा निजीमा पु¥याउन सकिने स्वार्थ पनि लुकेको हुने गरेको पाइएको छ । सरकारी अस्पतालको विभिन्न समस्या र भद्रगोल अवस्थाले बिरामी बाध्य भएर सरकारी अस्पतालका डाक्टर खोज्दै निजीसम्म पुग्नुपर्ने बाध्यता छ ।

निजी अस्पतालका सञ्चालक तथा लगानी कर्ता नै सरकारी अस्पतालको मुख्य जिम्मेवारीमा हुँदा उनीहरुको स्वार्थ बाझिँदैन भन्न सकिँदैन । उनीहरु आफ्नै लगानीको अस्पताल बनाउन लागि पर्छन् की आफूले जागिर खाएको सरकारी अस्पताल बनाउन लागि पर्छन् ? यो प्रश्न पनि आम बुद्धिजिवी तथा सर्वसाधारणले गर्ने गरेका छन् ।

यस्तो छ अस्पतालको भद्रगोल अवस्था :

कुशल व्यवस्थापन र नेतृत्वको अभावले भद्रगोल रहेको भरतपुर अस्पतालमा विभिन्न समस्या रहेका छन् । जसले भरतपुर अस्पतामा सेवा लिन आउने बिरामीहरुले निकै सास्ती खेप्नु परेको छ । अस्पतालका समस्या मध्येका केही समस्यालाई यहाँ प्रस्तुत गरिएको छ । यससम्बन्धि समाचारहरु यसअघि नारायणी अनलाइनले प्रकाशित गरिसकेको हुनाले त्यसका लिंकसहित त्यससम्बन्धी कुराहरु यहाँ उल्लेखित छन् ।

सुरु गरौं डाक्टरबाट…

भरतपुर अस्पतालमा रहेका डाक्टरहरु समयमा नआउने, एउटा कोठामा दुई वटा डाक्टर खटाइएको छ भने उनीहरु मिलेर पालैपालो एक जनामात्र बस्ने र एक जना बाहिर जाने, विभिन्न बाहनामा अस्पतालबाट छिट्टै बाहिर निस्कने, बिरामीहरुलाई राम्रोसँग परामर्श नदिने, चेकअप नै नगराई अन्दाजको भरमा औषधि दिने गरेका गुनासाहरु बिरामीहरुबाट पटकपटक आउने गरेका छन् ।

१२ नबज्दै बाहिरिन्छन् भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी

टिकट काउण्टरमा लाइन बस्दाबस्दै ढल्छन् बिरामी :

भरतपुर अस्पतालको अर्काे ठूलो समस्या हो । टिकट काउण्टर । यहाँको काउण्टरको व्यवस्थापन राम्रोसँग हुन नसक्दा बिरामीहरु घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ । मेसु र अध्यक्ष रहेको निजी अस्पतालमा जति भिड भए पनि काउण्टरमा छिटो सेवा प्रदान गरी धेरै समय लाइन बस्नु पर्ने पारिँदैन । तर सरकारी अस्पतालमा बिरामीको चाँप जति सकुै बढे पनि काउण्टरमा भिड व्यवस्थापन गर्न न कुनै सुरक्षा गार्ड खटिएका हुन्छन् । न काउण्टरमा काम गर्ने कर्मचारी ले नै छिटो काम गर्छन् । एउटा बिरामी टिकट काट्न निजीमा जाँदा जति समय लाग्छ त्यसको दुई गुणा बढी समय भरतपुर अस्पतालमा टिकट काट्ने कर्मचारीले लगाउँछन् । बिरामी लामो समय लाइनमा बस्नुपर्दा अशक्त तथा वृद्धहरु लाइनमै ढल्ने अवस्था सृजना हुने गरेको छ ।

भरतपुर अस्पतालको बहिरङ्ग टिकट पाउन दुई घण्टा लाइनमाः ज्येष्ठ नागरिक समस्यामा

बिग्रिएका उपकरण बनाइँदैन, निजीमा पठाउन सजिलो :

अस्पतालका उपकरणहरु बिग्रनु स्वभाविक हो । बिग्रिएपछि मर्मत गर्ने की त नयाँ ल्याउने गर्नुपर्छ । स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशिल कुरामा तत्कालै सेवा सुचारु गरिहाल्नु पर्छ । तर भरतपुर अस्पतालमा बिग्रिएका उपकरण अस्पतालले महिनौंसम्म बनाएको हुँदैन । विभिन्न सरकारी प्रक्रियाले ढिलो भएको बाहना बनाउँदै अस्पताल व्यवस्थापन पक्षले बिरामीलाई निजीमा चर्काे शुल्कमा परीक्षण गराउन बाध्य पार्ने गरेको छ । बीमामा निःशुल्क परीक्षण गराउने आशले आएका बिरामी बाहिर निजीमा चर्काे शुल्कमा परीक्षण गराउन बाध्य हुने गरेका छन् । गतवर्ष भरतपुर अस्पतालको सिटी स्क्यान मेशिन बिग्रँदा बिरामीहरुले निकै सास्ती खेप्नु परेको थियो । यो वर्ष भरतपुर अस्पतालमा एक्सरे मेशिन बिग्रियो । समयमै उक्त मेशिन नबन्दा बिरामी र कुरुवाले निकै सास्ती खेप्नु परेको थियो । अहिले एउटा मात्र मेशिन बनेको छ । जसले गर्दा अझै पनि बिरामीहरु निजीमा जान बाध्य छन् ।

भरतपुर अस्पतालको रेडियोलोजी विभागमा चरम लापरवाही, हैरानी व्यहोर्दै बिरामी र आफन्त

औषधि पनि निजीमै किन्नुपर्ने बाध्यता, पाइँदैनन् बीमाका औषधि :

अस्पतालको फार्मेसी पनि व्यवस्थित नहुँदा यहाँ सबै औषधि पाइँदैनन् । बिरामीलाई बाहिरका फार्मेसीमा किन्न पठाइन्छ । फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रमबाट उलपब्ध हुने औषधिमध्ये आधा पनि औषधि पाइँदैन । फार्मेसीको व्यवस्थापन गर्न फार्मेसिस्ट (फार्मेसी पढेका) लाई जिम्मा नदिइएको भन्दै यसै वर्ष फार्मेसिस्ट आन्दोलित बनेका थिए । आफ्ना नजिकका र आफू अनुकुलका व्यक्तिलाई मुख्य जिम्मेवारीमा राख्ने गलत परिपाटी रहँदै आएको छ ।

भरतपुर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रमको आधा औषधि पनि पाइदैंन

यसका अलवा सरकारी अस्पतालमा सेवा लिन लामो समय कुर्नुपर्ने, अपरेशन गर्न पनि धेरै समय कुर्नुपर्ने, फोहोर व्यवस्थापनको समस्या, खानेपानीको समस्या, ढल निकासको समस्या, रातको समयमा बिरामी कुरुवालाई समस्या, सुरक्षा गार्डका अभाव हुँदा भिड व्यवस्थापनको समस्या लगायतका यावत समस्याहरु रहेका छन् ।

उजुरीपछि अख्तियारको छापा, छानबिन जारी :

अस्पतालका यी यावत समस्याका बारेमा सर्वसाधारणले अख्तियारमा पनि गुनासो गरे । फार्मेसीमा औषधि खरिदमा अनियमिताको उजुरी पनि अख्तियारमा प¥यो । यसपछि अख्तियारको टोलीले गत महिना अस्पतालको फार्मेसीमा छापा हान्यो । छापा हानेर आवश्यक कागजात लगिएको र अनुसन्धान जारी रहेको अख्तियारको हेटौंडा कार्यालयले जनाएको छ ।

जब अकस्मात भरतपुर अस्पतालमा अख्तियार छिर्‍यो, तब कर्मचारीमा देखिएको त्यो त्रास (भिडियोसहित)

मानव अधिकार विरोधी गतिविधि गर्दै भरतपुर अस्पताल :

मानव अधिकारवादी विनोदखण्ड तिमिल्सिनाले स्वास्थ्य भनेको राज्यको दायित्व भित्र पर्ने बताउँदै यो संविधानले सुनिश्चित गरेको कुरा भएको बताए । संविधान बने पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले यो दुखःद अवस्था रहेको बताए । भरतपुर अस्पतालसँग भाडामा लिएर सञ्चालित अरु निजी अस्पताल फस्टाउँदै जाँदा सरकारी अस्पताल भने भद्रगोल हुँदै जानु भनेको निकै लज्जासपद कुरा भएको उनले बताए । उनले काम गर्न नसक्ने हो भने जिम्मेवारी सम्हालेर बसेकाहरुले अरुलाई जिम्मा दिनुपर्ने धारणा राखे । बीमाका औषधि नपाइने, बाहिर पैसा तिरेर किन्न बाध्य पारिने, मेशिन नबनाएर बाहिर महँगो शुल्कमा एक्सरे गर्न पठाउने, बीमाले दिएका सुविधा नदिने, सरकारीमा सेवा दिन नसकी निजीमा जान बाध्य पारिने भनेको जनताको आधारभुत स्वास्थय सम्बन्धी हक अधिकारविरुद्धको रहेको उनले बताए ।

मन्त्री नै असन्तुष्ट :

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर अस्पतालको अवलोकन गरेपश्चात भरतपुर अस्पताल साँच्चै बिजोग रहेको बताएका छन् । हिजो शुक्रबारमात्र उनले यो कुरा बताएका हुन् ।

अस्पतालका डाक्टरले जिम्मेवारपूर्ण ढंगले यहीँ काम गर्नुपर्ने उनले बताए । उनीहरुलाई सेवा थप्ने हो की तलब दोब्बर बनाउने हो जे गरेर भए पनि डाक्टरहरुलाई निजीमा जान दिन नहुने उनले बताएका छन् ।

उनले नाममात्रको केन्द्रीय अस्पताललाई साँच्चैको केन्द्रीय अस्पताल बनाउने दिशामा आफू अघि बढ्ने बताएका छन् । सरकारी अस्पतालको जग्गामा पूरानो मेडिकल कलेज अर्थात् कलेज अफ मेडिकल साइन्स (सिएमएस) रहेको छ । मन्त्री श्रेष्ठले यसबारे बोल्दै सरकारले तोकेअनुसारको भाडा नतिर्ने उक्त मेडिकल कलेजलाई आवश्यक परे भरतपुर अस्पतालले नै सरकारी अस्पतालका रुपमा चलाउनु पर्ने बताए ।

अस्पताललाई आफ्नै संरचना बनाउन जमिनको अभाव हुन थालेको पाइएको बताउँदै उनले संरचनाको भरपुर उपयोग गर्ने र अपुग संरचना बनाइ हाल्नु पर्ने बताए । यसका लागि आफू अघि बढ्ने उनले बताएका छन् ।

भरतपुर अस्पतालका संघीय सरकार अन्तर्गत रहेको छ ।

मेसु भन्छन्,– सरकारी समयबाहेक अरुबेला डाक्टरले जे गर्न पनि पाउँछन् :

अस्पतालका मेसु प्राडा पौडेलले सरकारी अस्पतालमा काम गर्ने समय १० बजेदेखि ३ बजेसम्म रहेको बताउँदै यो समयबाहेकको समयमा सरकारी डाक्टरले जे गर्न पनि पाउने बताए । सरकारी समयमा सरकारी डाक्टर सरकारी अस्पतालमा नभेटिए उनीहरुलाई कारबाही गरिने प्राडा पौडेलको भनाइ छ ।

अस्पतालका निर्देशकहरुले मात्र निजीमा बिरामी हेर्न नपाउने नियम रहेको बताउँदै उनले आफू मेसु भएकाले बाहिर बिरामी हेर्न पाउने बताए । भरतपुर सरकारी अस्पतालमा निर्देशक छैनन् । मेसुलाई नै निर्देशक सरहको जिम्मा दिइएको छ । उनले मेसुको हकमा ९ बजेदेखि ५ बजेसम्म सरकारी अस्पतालमा बस्नुपर्ने बताउँदै अरु समयमा निजीमा जान पाइने बताए ।

निजी र सरकारी भनेको एकअर्काको परिपूरक भएको बताउँदै उनले निजीमा काम गरे पनि डाक्टरले बिरामीकै सेवा गरिरहेको हुने बताए ।
अस्पतालको क्षमताभन्दा बढी बिरामी आइरहेका हुँदा सरकारी अस्पतालमा भनेर आएका बिरामी पनि निजीमा जानुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘धन्न निजीमा भए पनि चितवनमै उपचार पाएका छन् । बाहिरी जिल्ला जानु परेको छैन’ उनले भने ।

उनले बारअनुसार डाक्टरको समय तालिका हुँदा पनि बिरामीहरु उक्त डाक्टरलाई भेट्न निजीसम्म जाने गरेको स्वीकारे । जुन डाक्टरसँग सुरुमा जाँच गराइएको थियो त्यही डाक्टरसँग पुनः जाँच गराउन बिरामीले चाहने अनि बिरामी आएको दिन डाक्टरको बार नमिल्ने हुने गरेको छ ।

उनले बिग्रिएको एक्सरे मेशिनमा एउटा बनिसकेको बताउँदै अर्काे मेशिन नबन्ने गरी बिग्रिएकाले नयाँ किन्ने प्रक्रियामा रहेको जानकारी दिए । नयाँ मेशिन नआउनजेल बिरामीहरु बाहिर जानुपर्ने अवस्था रहेको उनले स्वीकारे । उनले कार्तिकको पहिलो हप्ताभित्र नयाँ मेशिन आइ सक्ने बताए । सरकारीमा मेशिन बिग्रेका बेला निजीमा धन्न एक्सरे गर्न पाइएको छ भन्दै उनले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

उनले रात्रीकालीन समयमा टेक्निसियन तथा रेडियोलोजिष्ट लगायतका बायोमेकानिकल इन्जिनियर अस्पतालमा पहिले नभेटिने गरेको सुनिने गरेको भए पनि आफू मेसु भएपछि त्यो समस्या आउन नदिएको बताए । उनले आफूले २४ सै घण्टा अस्पतालमा सबै कर्मचारीको निगरानी राख्ने गरेको बताएका छन् । पौडेल मेसुमा नियुक्त भएको एक महिना पनि भएको छैन । सरकारी अस्पतालमा मेसु दुई तीन महिना पनि नटिक्ने परिपाटी रहँदै आएको छ । पछिल्लो एक वर्षमा ७ वटा मेसु परिवर्तन भइसकेका छन् ।

एउटा कोठामा रहेका डाक्टरहरु मिलेर पालैपालो बस्ने परीपाटी कोरोना महामारीका बेलामा रहेको बताउँदै अहिले आफूले त्यो अवस्था आउन नदिइएको पौडेलको दाबी छ ।

उनले भरतपुर अस्पताल नेपालको अरु सरकारी अस्पतालभन्दा संगठित र अनुशासित रहेको पनि बताएका छन् ।

टिकट काउण्टरको भिडलाई मध्यनजर गर्दै अनलाइबाट टिकट काट्ने व्यवस्था मिलाउन लागिएको उनको भनाइ छ । उनका अनुसार कार्तिकबाट अनलाइन टिकट प्रणाली सुरु गरिने छ ।

आफू मेसु भएपछि फार्मेसीमा १५० प्रकारका औषधि थप गरेको र अहिले भरतपुर अस्पतालमा ५५० प्रकारका औषधि पाइने उनले बताए । अब छिट्टै १५० प्रकारका औषधि थपेर ७०० बनाइने बताउँदै उनले ७०० प्रकारका औषधि राखेपछि फार्मेसीबाट बीमाको ८० प्रतिशत औषधि पाइने बताए ।

अध्यक्ष भन्छन्,– ‘अस्पताल अहिले राम्रो छ भनेर भन्न सक्दिन । तर सुधार गर्न खोजेका छौं’

अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीले समितिको काम नीतिगत योजना बनाउने तथा निर्णय गर्नेमात्र बनाउने भएको बताउँदै अरु सबै काम अस्पताल प्रशासनको भएको बताए । उनले अस्पतालमा मेसु पटकपटक फेरिरहँदा महत्पूर्ण निर्णयहरु कार्यान्वयन हुन नसकेको बताए । अहिलेको मेसु स्थानीयले भएकाले केही कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

राजनैतिक अस्तव्यस्तताका कारण पनि अस्पतालका समस्या समाधान गर्न नसकिएको उनले बताएका छन् ।

आफूले कार्यकाल सम्हालेदेखि नै कारोना भाइरस (कोभिड–१९) सुरु भएकाकारण पनि सोचे जति प्रगति गर्न नसकेको उनले बताए ।
‘भुगोल त्यही हो । भवन त्यही हो । बिरामीको चाँप बढ्यो’ उनले भने । अपरेशनमा धेरै समय कुर्नपर्ने बाध्यता हटाउन मेशिनहरु थप्ने प्रक्रियामा रहेको उनले बताए ।

फार्मेसीमा फार्मेसिस्टलाई प्रमुख बनाउन गरिएको आन्दोलनप्रति इंगित गर्दै उनले सुधारका विभिन्न परिवर्तन गर्न खोज्दा पनि अस्पतालमा विभिन्न अवरोध हुने गरेको बताए ।

सरकारी अस्पतालमा अख्तियार छानबिनका लागि आउनुलाई ठूलो विषय बनाउन नहुने उनको भनाइ छ ।

डाक्टरको संख्या बढाउन, मुटुको सेवा दिने काम सुरु गर्न, एमआरआई मेशिन किनिदिन, सुत्केरी गराउने छुट्टै भवन बनाउन, सरुवा रोग भवन बनाउन सरकारसँग माग गरिएको उनको भनाइ छ ।

आफू अध्यक्ष भएपछि १० बेडको आकस्मिक कक्ष (इर्मजेन्सी) लाई ५० बेडको बनाउने चरणमा लगेको उनले बताए । सरकारी कर्मचारी, विकास समिति कर्मचारीलाई एकतृत गरेर आन्तरिक सुशासन कायम गर्न लागिएको पनि उनले बताए । ‘अस्पताल अहिले राम्रो छ भनेर भन्न सक्दिन । तर सुधार गर्न खोजेका छौं’ उनले भने ।

सुरक्षा गार्ड १३ जना रहेकोमा ५ जना थप्न प्रशानलाई आग्रह गरिएको बताउँदै उनले छिट्टै थपिने बताए । सुरक्षा गार्डको संख्या कम रहेको स्वीकार गर्दै उनले अबका दिनमा थपिने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>