क्रिकेट

अफगानी स्टार मोहम्मद शहजाद चितवन टाइगर्सबाट इपीएल खेल्ने

Banner

चितवन, भदौ ७–

अफगानिस्तानका स्टार व्याट्सम्यान मोहम्मद शहजादले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

विकेटकीपर/ब्याट्सम्यान शहजाद यसअघि पनि चितवनबाटै इपीएल खेल्ने तय भएको थियो । तर कोरोनाका कारण गत चैतमा हुने भनिएको इपीएल स्थगित भएको थियो । अहिले पुनः चितवनले शहजादको अनुबन्धलाई दोहोर्‍याएको हो ।

३४ वर्षीय शहजाद अफगानिस्तानको क्रिकेट विकासको महत्वपूर्ण खम्बा मानिन्छन् । दायाँ हातका शीर्ष क्रमका ब्याट्सम्यान शहजादले सन् २०१० बाट अफगानिस्तानलाई लगातार चार पटक टि–२० विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

जनवरी २०१७ मा, शहजादले एक दिनमा दुई टी–२० अर्धशतक बनाउने दुर्लभ किर्तिमान कायम समेत गरेका छन् । अफगानिस्तानले दुबईमा डेजर्ट टी–२० च्यालेन्जको बिहान सेमिफाइनल र बेलुकाको फाइनलमा ओमान र आयरल्याण्डलाई हराउने क्रममा लगातार अर्धशतक बनाएका थिए ।

उनी जुन २०१८ मा भारतबिरुद्ध अफगानिस्तानको पहिलो टेस्ट म्याच खेल्ने ११ क्रिकेटर मध्येका एक पनि हुन् । उनी टिमको एक्ला खम्बाको रुपमा एशिया कप, २०१८ मा भारतबिरुद्ध शतक प्रहार गरेका थिए ।

शहजादले ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा १३१ नटआउट उनको उच्च स्कोर हो । उनले एकदिवसीयमा छ शतक र १४ अर्धशतक प्रहार गरेका छन्। यस्तै अन्तर्राष्ट्रिय टि–२० मा नटआउट ११४ रनको उनको उच्च स्कोर हो । उनले अफगानिस्तानको प्रतिनिधित्व गर्दै ६५ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

शहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लीग, अबुधाबीमा टी–१० लिग र अफगानिस्तान प्रिमियर लिग खेलेको अनुभव छ।
चौथो संस्करणको इपीएल यही सेप्टेम्बर २५ अर्थात असोज ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान)ले अनुमित दिएको छ । नेपालकै ठूलो फ्रेन्चाईज लिग इपीएलको अहिले तयारी तिव्र पारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>