चितवन विशेष

सप्तगण्डकी क्याम्पसका पूर्वक्याम्पस प्रमुख सापकोटाको बिदाइ

Banner

चितवन, साउन १८-

सप्तगण्डकी बहुमुखी क्याम्पसमा पूर्व क्याम्पस प्रमुख खेमनारायण सापकोटाको बिदाइ गरिएको छ ।

थप अध्ययनका लागि परिवारसहित अमेरिका जान लागेका सापकोटाको क्याम्पसको प्रगतिशिल प्राध्यापक संगठन सप्तगण्डकी एकाइ र अनेरास्ववियु सप्तगण्डकी क्याम्पसले आइतबार विशेष कार्यक्रम गरी बिदाइ गरेको हो ।

भारत आसामको ब्रिटिस विद्यालयमा प्रारम्भिक शिक्षा लिएका सापकोटाले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेपछि २४ वर्षसम्म सप्तगण्डकी क्याम्पसमा प्राध्यापकको रुपमा सेवा गरेका थिए । यस अवधिमा २०७१ देखि २०७५ सम्म क्याम्पस प्रमुख, त्यसअघि सहायक क्याम्पस प्रमुख र प्राध्यापक संघको सभापति भएका थिए । बिदाइ कार्यक्रममा बोल्ने वक्ताहरुले सापकोटाको कार्यकालमा क्याम्पसले शैक्षिक र सामाजिक क्षेत्रमा विशेष उचाइ बढाएको विचार व्यक्त गरे ।

प्रगतिशिल प्राध्यापक संघ सप्तगण्डकी इकाइका अध्यक्ष गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश प्रमुखका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले खेमनारायण सापकोटा शैक्षिक र प्राज्ञिकरुपमा मात्र नभएर प्रशासनिकरुपमा पनि अब्बल साबित भएको विचार राखे । उनले भने, ‘सप्तगण्डकी बहुमुखी क्याम्पसले गुणस्तरमा क्यूएए प्रमाणपत्र प्राप्त गर्ने देखि धेरै नयाँ विषयहरुको सम्बन्धन ल्याउने काम उनकै कार्यकालमा भएको हो ।’ सप्तगण्डकीको पूर्वक्याम्पस प्रमुखसम्म रहेका थपलियाले अमेरिकामा बसेर सिकेको ज्ञान भविष्यमा पनि क्याम्पसको लागि उपयोगी हुने विचार राखे ।

नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनको शैक्षिक, राजनीतिक र समाजिक क्षेत्रको विकासमा सप्तगण्डकी क्याम्पसको महत्वपूर्ण भूमिका रहँदै आएको बताइन् । उनले भनिन्, ‘सप्तगण्डकीको गरिमा र गौरवलाई जोगाइराख्न नेकपा एमाले चितवन सधै अग्रसर भइरहनेछ ।’ कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले निकै मेहनत गरेर स्थापना गरिएको सप्तगण्डकी क्याम्पस अहिले चितवनको लागि विश्वविद्यालय जस्तो बन्दै गएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा शिक्षाविद् तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटा, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका जिल्ला संयोजक धर्मराज घिमिरे, सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पसको व्यवस्थापन विभागको प्रमुख कपिलदेव सुवेदी, नेकपा एमाले भरतपुर महानगरका अध्यक्ष रामप्रसाद न्यौपाने, सप्तगण्डकी बहुमुखी क्याम्पस कर्मचारी संगठनका अध्यक्ष कृष्णप्रसाद भुसाल, नेपाल प्रगतिशिल प्राध्यापक संगठन नवलपुरका जिल्ला उपाध्यक्ष गिरिराज उपाध्याय, विद्यार्थी नेताहरु ऋषिकेश रेग्मी र हरि आचार्यलगायतले पूर्वक्याम्पस प्रमुख सापकोटाको योगदानको चर्चा गर्दै उज्जवल भविष्यको लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा सापकोटालाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा पूर्वक्याम्पस प्रमुख सापकोटाले आफ्नो व्यक्तिगत फाइदाहरुलाई तिलाञ्जली दिएर २४ वर्षसम्म सप्तगण्डकी क्याम्पसको शैक्षिक उन्नतीको लागि अग्रसर भएको विचार राखे । उनले भविष्यमा विश्वको जुनकुनै कुनामा रहे पनि क्याम्पस र चितवनको परिवेशलाई केही न कतैबाट योगदान गरिरहने बताए । प्रगतिशिल प्राध्यापक संघ सप्तगण्डकी इकाइका सचिव कृष्णप्रसाद ज्ञवालीले संयोजन गरेको कार्यक्रममा इकाइका सहसचिव मधुसूदन दवाडीले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>