नवलपुर

कावासोतीमा दूध दिइरहेको भैंसी ब्याएपछि किसान अचम्मित

Banner

कावासोती असार १८-

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-४ हसौरामा दूध दिइरहेको भैंसी ब्याएपछि किसान अचम्मित भएका छन् । हसौराका किसान रमाकान्त चापागाईँको भैंसी शुक्रबार बिहान ब्याएको छ, जसले बिहीबारसम्म दूध दिएको थियो ।

दैनिक १५/१६ माना दूध दिइरहेको भैंसी ब्याएपछि अचम्म लागेको किसान चापागाईंले बताए । ‘हिजोसम्मै दूध दिइरहेको थियो । ब्याउने छ भन्ने लागेकै थिएन । आज बिहान ब्यायो । अचम्मै लागेको छ,’ चापागाईंले भने ।

चापागाईंले २०७६ कात्तिकमा नजिकैको गाउँबाट ७८ हजारमा पहिलो बेते लैनो भैंसी किनेर ल्याएका थिए । भैंसी २०७६ असोजमा ब्याएको थियो । भैंसीले त्यसयता २१ महीना निरन्तर दूध दिएको चापागाईँले बताए । भैंसीको ब्याउने मिति आइसक्दा पनि निरन्तर दूध दिएपछि चापागाईंले नगरपालिकामा खबर गरेका थिए ।

नगरपालिकाको पशु विकास शाखाले भैंसीको बारेमा जानकारी लिएको र ब्याउने मिति नजिकिंदा पनि दूध दिइरहेको पाइएको थियो । नगरपालिकाका पशु विकास अधिकृत टेकराज पौडेलले चापागाईंको भैंसीले ब्याउने बेलासम्मै निरन्तर दूध दिइरहेको पुष्टि गरे । ‘उहाँहरुले पहिले पनि जानकारी गराउनु भएको थियो । दूध दिइरहेको थियो । आज त ब्याएछ,’ पौडेलले भने ।

ब्याउने मिति नजिकिंदा पनि भैंसीले दूध दिइरहेको थाहा पाएपछि डाक्टर पौडेलले केही समय दूध नदुहुन भनेका थिए । तर भैंसी धेरै नै पग्रिएपछि अप्ठ्यारो होला भनेर दुहुन सुझाव दिएका थिए । भैंसी मालिक चापागाईंले भैँसीले दूध घटाउला र दुहुन छोड्नु पर्ला भन्दा भन्दै भैंसी ब्याएको बताए । उनका अनुसार गत वैशाखमा दूध घटेको थियो, तर पुनस् पग्रिएर धेरै दूध दिन थालेपछि दुहुन छोडेनन् ।

पशु चिकित्सकका अनुसार सामान्यतया भैंसीले एक बेतमा ६ महीनासम्म दूध दिनसक्छ । भैंसीको जात अनुसार केही महीना तलमाथि हुनसक्छ । डाक्टर पौडेलका अनुसार चापागाईंको भैंसी मुर्रा क्रस हो । यसले ६ महीनामा एक हजार ८०० लिटरसम्म दूध दिन्छ । उन्नत जातका गाईंले यसरी निरन्तर दूध दिने गरेका घटना भए पनि भैंसीले यसरी दूध दिनु दुर्लभ भएको डाक्टर पौडेलले बताए ।अनलाइनबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>