कालिका

शक्तिखोर र सिद्धी स्वास्थ्य चौकीलाई एक्सपर्टको सहयोग

Banner

चितवन, असार १२–

शैक्षिक परामर्श सेवा दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले जिल्लाको कालिका नगरपालिकाका दुई वटा स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

आज (शनिबार) एक कार्यक्रमकाबीच शक्तिखोर स्वास्थ्य चौकी र सिद्धी स्वास्थ्य चौकीलाई एक/एक थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले शक्तिखोर स्वास्थ्य चौकीका प्रमुख युवकमणि खनाल र सिद्धी स्वास्थ्य चौकीका प्रमुख हरि पोखरेललाई अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरे । सहयोग गरिएको अक्सिजन कन्सट्रेटर १० लिटर क्षमताको हो । यसले अक्सिजन आवश्यक पर्ने बिरामीलाई तत्कालै अक्सिजन दिन मद्धत पुग्ने छ ।

ग्रामीण भेगका स्वास्थ्य संस्थाहरुमा यस्तो सुविधा नहुँदा धेरैले अकालमै ज्यान गुमाउन बाध्य छन् । सोही अवस्थालाई मध्यनजर गर्दै एक्सपर्टले आवश्यक दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सहयोग उपलब्ध गराएको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक अधिकारीले कसैको आँखा नपुग्ने दुर्गमका स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको बताए । ‘सुगम ठाउँमा सबैको आँखा पुग्छ तर दुर्गममा कसैले वास्ता नगर्दा सामान्य नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन परेको धेरै उदाहरण छन्’ प्रवन्ध निर्देशक अधिकारीले भने ‘वास्तमै उपकरण अभाव झेलिरहेका स्वास्थ्य संस्थाहरुलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेका छौँ ।’ अक्सिजन कन्सट्रेटर उपलब्ध भएपछि सिद्धी र शक्तिखोरका बासिन्दाहरुले सहज रुपमै सेवा पाउनेमा उनले विश्वास व्यक्त गरे । यी दुई संस्थामा प्रसुति सेवा समेत रहेकाले अक्सिजनको आवश्यकतालाई ध्यानमा दिएर सहयोग गरिएको प्रवन्ध निर्देशक अधिकारीले बताए ।

सहयोग ग्रहण गर्दै सिद्धी स्वास्थ्य चौकीका प्रमुख पोखरेलले अक्सिजन कन्सट्रेटर प्राप्त भएपछि पहाडी भेगका जनतालाई अक्सिजनकै अभावमा सदरमुकाम पठाउन नपर्ने बताए । उनले प्रसुति सेवाका कारण अक्सिजन कन्सट्रेटर अति आवश्यक भन्दै सहयोगका लागि एक्सपर्ट परिवारलाई धन्यवाद दिए । उनले कोरोना भाइरस संक्रमण रोक्नका लागि खोप अति आवश्यक रहेको भन्दै विदेशमा रहेका नेपाली संस्थाहरुलाई खोपका लागि पहल गरिदिन अनुरोध समेत गरे ।

यस्तै सहयोग ग्रहण गर्दै शक्तिखोर स्वास्थ्य चौकीका प्रमुख खनालले अक्सिजन कन्सट्रेटर सहयोगले स्वास्थ्य चौकीलाई धेरै राहत मिलेको बताए । भएको एउटा अक्सिजन सिलिण्डर पनि पुरानो र रिफिल गर्न जान आउन पनि समस्या हुने गरेको भन्दै खनालले भने–‘हामीलाई तत्कालका लागि अक्सिजनको समस्यामा केही राहत मिल्यो, उपचारमा सहज हुने भयो ।’ उनले सहयोगका लागि एक्सपर्ट परिवारलाई धन्यवाद ज्ञापन दिँदै आगामि दिनमा यस्तै सहयोगको अपेक्षा गरे ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले धेरैले सुगम र चर्चामा रहेका अस्पतालहरुमा मात्रै सहयोग गर्ने गरेकोमा दुर्गम ठाउँलाई सम्झिएर सहयोग गरेकोमा एक्सपर्ट परिवारलाई धन्यवाद ज्ञापन गरे । यस कार्यले व्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व पनि बहन गर्दै जानुपर्छ भन्ने सन्देश एक्सपर्टले दिएको उनको भनाई थियो । प्रसुति गृहका अक्सिजन सिलिण्डरहरु कोरोना संक्रमितका लागि आइसालेसन सेन्टरहरुमा पुगेकाले छुट्टै अक्सिजनको अभाव भइरहेको बेला यो सहयोगले धेरै सहज हुने भण्डारीले बताए । कार्यक्रममा एक्सपर्ट चितवनका लेखा प्रमुख किरण पौडेललगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

एक्सपर्ट चितवनले यसअघि जिल्लाको माडी नगरपालिका अन्तरगतको बघौडा अस्पताल, इच्छाकामना गाउँपालिका अन्तरगतको दारेचोक स्वास्थ्य चौकी, मकवानपुरको कैलाश गाउँपालिका अन्तरगतको नामटार स्वास्थ्य चौकी र मकवानपुरगढी गाउँपालिका अन्तरगतको स्वास्थ्य चौकी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका अन्तरगतको देउराली प्राथमिक अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरिसकेको छ ।

एक्सपर्ट फाउण्डेशन मार्फत एक्सपर्टले देशका सबै शाखा मार्फत ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरिरहेको छ । जसमध्ये चितवन शाखालाई ७ वटा अक्सिजन कन्सट्रेटर प्राप्त भएको थियो । सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिवद्ध व्यवसायिक संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिले एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ ।

यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>