प्रदेश २

विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै

Banner

जलेश्वर,जेठ २७ –

महोतरीलगायत मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् ।

यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । यो पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखिन्छ ।

धार्मिकग्रन्थ स्कन्धपुराणमा उल्लेख गरिएअनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ । अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्षअर्थात बरको रुखमुनिमै बसेर सो पर्व मनाउने गरिन्छ ।

यो पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधि अनुसार मनाउने चलन छ । मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकारलगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । यो पर्व मनाउन नवविवाहिता ९बेहुली०का लागि माइतीपक्षबाट नयाँ बस्त्र, श्रृंगारका सामग्री, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

यो पर्वमा उपलब्ध भएसम्म बर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए बरको रुखमुनि पीपलको हाँगा गाडेर भएपनि बर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्छन् । पति र पत्नीले पूजा गरिरहँदा पत्नीका भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी बरको जरामा पूजा गर्छन् । अंकुरी ९पानीमा भिजाएर उमारिएको चना, मुङ्ग र चामल० काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा बरको जरामा चढाएर सिँदुरले रङ्गाउँछन् । प्रसाद चढाइसकेपछि ब्रतालुले पतिलाई उभिन लगाएर बरको रुखमा सात फेरो पहेलो र रातो धागोले बेर्छन् । त्यसपछि ब्रतालु महिलाले आँप र कलश लिएर तीन पटक बरको रुख र पतिको परिक्रमा गर्छन् ।
सति सावित्री को हुन् रु
धार्मिकमान्यता अनुसार मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर ९बेहुला० खोज्न सक्नु भएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिनुभयो । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराउनुभयो । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरु यतिखेर जङ्गलमा बस्ने गरेको, सावित्रीले जानकारी गराइन् ।

यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो । तत्पश्चात निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमत्ताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गर्नुभयो ।

सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मङ्गलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>