देश/प्रदेश
फलामको कर्नीले हिर्काएर साथीको हत्या गर्ने पक्राउ
कैलाली, जेठ २६ –
साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । लम्कीचुहा नगरपालिका २ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीका ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
टाउकोको पछाडी घाउ चोट रही बिशाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा घटनापश्चात भागी फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बादविवादद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा बिशालको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।


























