चितवन विशेष

देवघाटमा कोरोना संक्रमितको शव दाहसंस्कारमा प्रयोग हुने दाउरको मूल्य घट्यो

Banner

चितवन, जेठ ४
देवघाटमा कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार गर्दा प्रयोग हुने दाउराको मूल्य घटाइएको छ । देवघाट क्षेत्रविकास समितिले यसअघि लिँदै आएको ३५ सय रुपैयाँबाट घटाएर ३ हजार रुपैयाँमात्र लिने निर्णय गरेको हो ।

देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भोलिदेखि नै सो निर्णय लागु हुने जनाए । यसअघि क्षेत्रविकास समितिले दाहसंस्कार गर्दा दाहसंस्कारमा प्रयोग हुने दाउराको शुल्क ३ हजार र ५ सय सरसफाइ तथा वातावरण शुल्क भनेर लिने गरेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनमा सरोकारवाला सहितिको छलफलपछि दाउराको मूल्य घटाउने निर्णय गरिएको घिमिरेले बताए ।

उनले भने, ‘भोलिदेखि नै योगीनरहरीनाथ योग तथा प्राकृतिकि चिकित्सालय, बागेश्वरीबाट नै दाउराको व्यवस्था हुनेछ । दाहसंस्कारका लागि चाहिने चिरेका दाउरा वन कार्यालय र सामुदायिक वनमार्फत निशुल्क प्राप्त हुने घिमिरेले जानकारी दिए । बागेश्वरी नजिकै नारायणी नदी किनारमा संक्रमितको शव व्यवस्थापन गर्ने गरिएको छ ।

निर्देशक घिमिरेले देवघाटमा दाहसंस्कारका लागि दाउराको अभाव हुन नदिन निरन्तर प्रयास गरिरहेको बताए । उनले यो महामारीको समयमा सकेसम्म राहत दिने प्रयास गरिरहेको बताए ।

देवघाटमा अहिले दैनिक १५ देखि १८ जनाको शव दाहसंस्कारका लागि ल्याउने गरिएको छ । दोश्रो चरणको कोभिड संक्रमणपछि देवघाटमा दाहसंस्कारका लागि ल्याउने शवको संख्या दोब्बरले बढेको क्षेत्र विकास समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>