चितवन विशेष
माडीको आइसोलेशनका लागि जेवाईएसकेद्वारा १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण
माडी, ४ जेठ
जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल) ले आज मंगलबार चितवनको माडी नगरपालिकाको कोभिड आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
डेनमार्कका स्वयमसेवीहरुको संस्था जे.वाई.एस.के ले माडीको स्थानीय साझेदार निकाय एकीकृत समावेशी दीगो विकास परियोजना, माडी-८, चितवन मार्फत आइसोलेशन सेन्टरलाई करीब ५ लाख ७० हजार हजार रुपैंया बराबरको सहयोग गरेको हो ।
परियोजनाका सचिव गोविन्दप्रसाद पन्तले दिएको जानकारी अनुसार सहयोग रकमबाट १० वटा ठूला अक्सिजन सिलिण्डर, त्यसमा लाग्ने रेगुलेटर र अन्य सामग्रीहरु, वायुमण्डलबाट अक्सिजन संग्रह एवं प्रशोधन गर्ने २ वटा कन्सन्ट्रेटर मेसिन तथा अन्य मेडिकल सामग्रीहरु माडीका नगरप्रमुख ठाकुर ढकालमार्फत हस्तान्तरण गरिएको हो ।
अघिल्लो वर्षको कोभिड सङ्क्रमणको समयमा पनि सो संस्थाले बघौडा अस्पतालको लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । संस्थाले माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौडा अस्पतालका लागि एक/एक वटा डेनिस म्याटरनिटी बेड समेत पठाएको सचिव पन्तले जानकारी दिनुभयो ।
सो संस्थाले माडी-८, दक्षिण अयोध्यापुरी र इन्द्रबस्ती गाउँमा शुद्ध खानेपानी वितरण एवं आयआर्जन, प्राङ्गारिक खेती, शिक्षा, स्वास्थ्य र पुस्तकालय लगायतका क्षेत्रमा काम गर्दै आएको छ भने विपत परेका स्थानहरूमा सहयोग गर्दै आएको छ ।


























