Breaking News

भरतपुर अस्पतालमा महिला सुरक्षा गार्ड:सुरक्षा सामग्री बिनानै दिनरात सेवामा

Banner

मनिका विश्वकर्मा

चितवन, जेठ २-

अस्पतालमा रातको १० बज्दै थियो । सुत्केरी वार्डमा भर्खरै जन्मिएका शिशुहरु च्या च्या गर्दै रुदै थिए । लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्केरी कुरुवाहरु झुलभित्रै थिए । केही व्यक्तिहरु भने श्रीमतीलाई बेथा लाग्न सहज होस् भनेर अस्पताल बाहिर भित्र हिडाइरहेका थिए । यो भरतपुर अस्पतालको सुत्केरी वार्डमा हालै देखिएको दृश्य हो ।

यी दृश्यहरु आँखामा कैद हुँदै गर्दा एक महिला निलो पोशाकमा मुखमा मास्क र जुत्ता लगाएर आँखा मात्रै देखिने गरी गेट नजिकैको फलामको कुर्सीमा लामखुट्टे धपाउँदै थिइन । उनी हुन भरतपुर अस्पतालकी कर्मचारी लक्ष्मी क्षेत्री ।

लक्ष्मीको श्रीमान् बितेको आज २६ दिन मात्रै भयो । श्रीमान्को भरतपुर अस्पतालमा नै उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालकै कर्मचारी भएको कारण पनि उनको श्रीमान्को उपचारको लागि एक पैसा पनि लागेन । श्रीमानको काजक्रिया गर्ने रकम पनि लक्ष्मीसँग थिएन । साथीहरुको सहयोगले उनले श्रीमान्को काजक्रिया गरेकी हुन् । दुई छोरीसहित लक्ष्मी र श्रीमान् गरी परिवारमा चार सदस्य थिए । लक्ष्मीको श्रीमान्ले पूजापाठका काम गरेर बिहान बेलुका नुनतेल खाने बाटो मात्रै टार्ने काम गर्थे । अरु छोरीहरुको पढाइलेखाइ सबै खर्च लक्ष्मीले नै जुटाउने गर्छिन् । श्रीमान् बितेपछि उनलाई थप पीडा परेको छ । सरकारी अस्पतालमा सुरक्षा गार्डको रुपमा काम गरेको पनि ७ वर्ष पुग्न लागिसकेको छ । उनले भनिन्र्, भूकम्प गएको वर्षदेखि काम गरेको न पद माथि जान्छ न तलब बढ्छ । बुढा पनि छैनन् । अब झन धेरै खट्नुपर्छ ।’

श्रीमान् बितेपछि उनी २४ दिन त घर नै बसिन् । अस्पतालले काजक्रियाको लागि भनेर १३ दिन मात्रै बिदा दिने लक्ष्मीले बताइन् । बिहानबेलुका गरी उनी दिनहँु आठ घण्टा अस्पतालमा सुरक्षा गार्डको रुपमा काम गर्छिन् । हप्तामा कुनै दिन पनि उनको छुट्टी भने हुदैन । हप्ताको एकदिन उनी अनिवार्य १२ घण्टा त ड्युटीमा खटिनु नै पर्छ । टुकटुके मोबाइलमा फोन गर्दै उनी घरमा छोडेर आएकी कान्छी छोरीलाई केकस्तो भनेर दुईतीन पटक फोन गरिरहन्छिन् । उनको रातिमा पनि ड्युटी पर्छ । हप्ताको तिन दिन दिउँसो र तिन दिन रातिमा उनको ड्युटी पर्छ ।

अस्पतालले उनीहरुलाई स्वास्थ्य सामग्री पनि दिएको छैन । एक महिना काम गरेवापत १२ हजार मात्रै तलब पाउने गर्छिन् र्। कोरोनाको समयमा अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई त मास्क दिनुपर्छ अँह त्यो पनि छैन । खाजा पानी सबै आफ्नै खर्चले खानुपर्छ । अस्पतालले यस्तो कोरोनाको समयमा स्वास्थ्य सामग्री मात्रै दिए पनि धेरै राहत मिल्ने थियो हामीहरुलाई । उनले भनिन् ।’

उनले अस्पतालमा बिरामीहरु बीच हुने झगडाहरु मिलाइदिने, लफडा हुन लागे प्रहरीलाई खबर गरिदिने, टिकटहरु काटिदिने, भीडभाडलाई कम गराउने जस्ता काम लक्ष्मी गर्छिन् । तरकारी लगाउने समेत बारी नभएको एउटा जस्ताले छाएको दुई कोठाको घर छ उनको । तरकारीदेखि सबै सरसामान किन्नु नै पर्छ उनलाई । साधन किन्ने पैसा नभएकोले उनी एक घण्टा लगाएर अस्पतालसम्म स्वास्वा गर्दै आइपुग्छिन् । लक्ष्मी अहिले सरकारी अस्पतालमा काम गरे पनि अस्थायी र निजी कर्मचारी नै हुन् । आफूलाई सरकारी र स्थायी बन्ने मन भएको उनले बताइन् । अस्पतालमा पनि लक्ष्मीको काम स्थायी छैन । अस्पतालमा वर्षैपिच्छे टेन्डर फेरिरहने भएकोले कुनबेला आफूलाई पनि निकाल्ने ठेगान नभएको उनले सुनाइन् । टेन्डर फेरिएको समयमा नयाँ कर्मचारी राख्ने र पुरानो कर्मचारी हटाउने प्रचलन बढिरहेको उनले बताइन् । धेरै पढेलेखेको नभएर पनि अरु कामहरु पाउन गाह्रो हुने उनको अनुभव छ । उनी भन्छन् , महिलालाई जीवनयापन गर्न पुरुष नै आवश्यक पर्देन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>