Breaking News

चितवनका महिला प्रहरीका पीडा: महिनावारीको समयमा पनि १२ घण्टा उभिएर ड्युटीमा खट्न बाध्य

Banner

मनिका विश्वकर्मा

चितवन, वैशाख २९- 

निषेधाज्ञाको समयमा चितवनका सडकका चोकचोका प्रहरी जवानहरु ड्युटीमा नै देखिन्छन् । आजभोलि सडकमा ड्युटीमा धेरै नै महिला प्रहरी खटिन्छन् । महिला प्रहरी हवल्दार कालो बुटसहित निलो पहिरनमा सधैंझै ड्युटीमा निस्कन्छन् । पद जस्तै उनको काम त्यति सहज छैन । प्रशासनले गराएको निषेधाज्ञाको कारण उनको ड्युटी सडकमा नै परेको छ । बिहानदेखि बेलुकासम्म गरी उनी १२ घण्टा ड्युटीमा खट्नुपर्छ ।  आज महिनावारी भएको पहिलो दिन भएकोले उनलाई दुई घण्टा मात्रै काम गर्ने मन छ । महिनावारीमा हुने शारीरिक पीडामा पनि उनीहरु अन्य दिनको जस्तै ड्युटीमा नखटी सुखै छैन ।

उनले पीडा सुनाइन्, ‘आज असाध्यै पेट दुखिरहेको छ । सानोपेटदेखि माथि ढाँडसम्म करकर लुछिरहेको छ ।’ सँगै काम गर्ने पुरुष प्रहरी साथी भए पनि उनी आफ्नो पीडा सुनाउन सक्दिनन् । उनले भनिन्, ‘अहँ मन नै लागेन आफ्नो पीडा बताउँन । सकिनसकी भए पनि ड्युटी गर्नु छ । दुईवटा सेनिटरी प्याड राखेर आएकी उनी धेरै उभिएको कारण दुई घण्टा उभिँदा प्याडले धान्दैन ।’ उनी सडकमा यताउती आँखा डुलाउँछिन् कतै शौचालय छ की भनेर अहँ कतै पनि देख्दिनन । रगत धेरै नै बगिरहेको छ । कतै कपडामा त लाग्ने होइन भनेर उनी पछाडि फर्किएर कपडामा हेर्छिन् । अलि अलि रातो देख्छिन् उनी हतपत डराउँछिन कसैले देख्ने होकी भनेर । निषेधाज्ञाको कारण पसलहरु, होटलहरु सबै बन्द हुन्छन् । शौचालय पनि कतै नभेटिएपछि उनी एउटा घरमा पुग्छिन् । उनले त्यहाँको घरधनीलाई भन्छिन्, ‘तपाइँको शौचालय प्रयोग गर्न सक्छु आमा । आमाले पनि हुन्छ गर्नुहोस् भनेपछि उनी हरियो सानो झोलासहित शौचालयमा जान्छिन् ।’ उनले घरदेखि नै सेनिटरी प्याड बोकेर आउँछिन् ।

यो दिन उनलाई साह्रै पेट दुखेर समस्या परिरहेको छ । उनले महिनावारी भएको कारण मलाइ अलि समस्या भयो भनेर आफूभन्दा माथिल्लो पोष्टको व्यक्तिलाई भन्छिन् । अहँ उनलाई बिदा मिल्दैन । निषेधाज्ञाको समयमा काम गर्ने मान्छे कम छ भन्दै के गाह्रो हुन्छ र मिलेर काम गर्ने त हो भनेर उनलाई बिदा नमिल्ने भएपछि उनी ड्युटीमा खटिएको बताउछिन् । १७ वर्ष भयो उनले नेपाल प्रहरीमा महिला हवल्दार भएर काम गरेको तर हालसम्म पनि उनको न पद माथि गएको छ त नत उनी महिनावारी भएको भनेर बिदामा बसेकी छिन् । प्रहरीमा धेरै महिलाहरु भएको कारण महिनावारी पनि धेरै हुने र कति जनालाई बिदा दिएर साध्यै नै नलाग्ने उनले बताइन् । महिनावारी हुँदा महिला प्रहरीलाई न प्याडको व्यवस्था छ न त कुनै सहज हुने खालका आरामको व्यवस्था छ । यो समस्या चितवनका महिला प्रहरीको मात्रै नभएर देशभर रहेका सात हजार महिला प्रहरीको समस्या हो ।

चितवनका डिएसपी सरोज गिरी भन्छन्, ‘नेपाल प्रहरीको नियमावलीमा नै छैन महिला प्रहरी महिनावारी हुँदाको बिदा कसरी दिने ? नियमावलीमा बिदा भएको भए हामी बिदा दिन्छौ । ’ कानुन विपरित जान नमिल्ने उनको भनाइ छ । महिला प्रहरीले आफूहरुलाई असहज भएको अर्थात् स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा हामीले बिदा दिइरहेको गिरीले नारायणी अनलाइनलाई जानकारी दिए ।

पुरुष प्रहरीको तुलनामा नेपालमा महिला प्रहरीको संख्या ९ प्रतिशत रहेको छ । महिला प्रहरीहरु आफूहरुलाई भएको पीडाको बारेमा पुरुष साथीहरुलाई त्यति धेरै कुराहरु भन्ने गर्दैनन् । उनीहरुलाई महिनावारीको समयमा हामीले थाहा भएसम्म साथसहयोग गर्ने पुरुष प्रहरीहरु बताउँछन् । सिपाही र हवल्दारमा कार्यरत रहेका प्रहरीलाई माथिको आदेश अनुसार नै चल्नुपर्ने हुन्छ । बस भने बस्ने उठ भने उठ्ने सबै आदेशको इमान्दारी रुपले पालना गर्नुपर्छ । पुरुष प्रहरीहरुलाई उनीहरु महिनावारी भएको कुरा लजाएर नभन्ने र सकेसम्म महिनावारीको कुरा थाहा नपाओस् भन्ने गरेको एक पुरुष हवल्दार प्रहरीले भने, उनीहरु आफ्ना आर्थिक कुराहरु मात्रै भन्ने गर्छन् । हामीलाई उनीहरु महिनावारी भएको थाहा पाएपछि हामीले गर्न सक्ने सहयोग गर्छौ । उनीहरुलाई महिनावारी हुदाँ कम्तीमा पनि तिन दिन बिदा दिनुपर्छ जस्तो लाग्छ ।’ केही महिलाहरुले प्रष्ट रुपमा आफू महिनाबारी भएको कुरा भन्ने र केहीले लुकाउने गर्ने उनले बताए ।

नेपाल प्रहरीका निरीक्षक लक्ष्मी खनालले बिदा चाहिन्छ र नचाहिने कुराबारे भन्न नसक्ने बताइन् । उनले आफूले पनि महिनावारीको समयमा बिदा नलिएको र कसैलाई गाह्रो हुने कसैलाई गाह्रो नहुने भएकोले पनि बिदा दिनु पर्छ पर्दैैन भन्ने बारे बोल्न नमिल्ने उनले बताइन् । नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी बसन्त कुँवरका अनुसार गाह्रो अप्ठायारो परेको बेला महिला प्रहरीहरुलाई बिदा दिइरहेको छ । अनुगमन गर्दा महिनावारीको समयमा शारीरिक कठिनाइका कामहरुमा महिला प्रहरीलाई नखटाइएको कुवँरले बताए । उनले भने, मेरो यो समस्या छ भन्ने बित्तिक्कै उनीहरुलाई हेरेकै हुन्छ । उनीहरुको लागि भनेर लैगिंक मैत्री शौचालयहरु पनि बनिरहेको छ । महिनावारी हुँदा अहिलेसम्म बिदा भने दिएको छैन । कानुनमा पनि यो कुरा छैन । नीति बनाउनेले पनि नगरेपछि हामीले पनि दिन मिल्दैन् ।’ अधिकारकै कुराभन्दा पनि यसलाई व्यवस्थापन गर्ने कुरा ठिक हुने कँुवरले बताए ।

कानुन अनुसार महिनावारीको समयमा महिला प्रहरीको लागि भनेर बिदाको व्यवस्था गरिएको छैन । कानुन अनुसार महिलाको हकमा महिला प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी साठी दिन प्रसूति बिदा पाउनेछन् । प्रसूति बिदा बस्ने महिला प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ भन्ने प्रावधान छ । तर, महिनावारीको भएको बेला भन्ने बिदा भने छैन । चितवनकी अधिवक्ता सरिता तिवारीका अनुसार कतिपय देशमा महिनावारी हुँदा बिदा हुने व्यवस्था छ । नेपालमा निजामती कर्मचारीहरुको महिनावारी भएको समयमा बिदा रहेको छैन । तर, महिनावारी भएको समयमा उनीहरुलाई कम्तीमा पनि तिन दिन बिदा दिनुपर्ने तिवारीले बताइन् ।

इन्सेकका जिल्ला प्रतिनिधि दिपेन्द अधिकारका अनुसार कानुनमा छैन भनेर उनीहरुको मानव अधिकारलाई हनन गर्न मिल्दैन । मानव अधिकारको हिसाबले पनि उनीहरुलाई महिनावारी भएको समयमा गाह्रो अप्ठायारो परेको समयमा सम्बन्धित संस्थाले बिदा दिनुपर्ने अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>