चितवन विशेष
भरतपुरको कृष्णपुर माविमा नयाँ भवनको शिलान्यास

चितवन, फागुन २४-
भरतपुर महानगरपालिका–७ को राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा चार कोठे भवनको शिलान्यास भएको छ ।
विद्यालय भवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज शिलान्यास गरेकी हुन् । उनले शिलान्यास कार्यक्रममा शिक्षाको गुणात्मक विकासले मात्र समृद्धि हासिल गर्न सकिने बताइन् । उनले त्यसलाई आत्मसात गर्दै भरतपुर महानगरपालिका अगाडि बढिरहेको स्पष्ट पारिन् । ‘म जनप्रतिनिधि भएर भरतपुर महानगरमा प्रवेश गरेसँगै यहाँको समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढिरहेकी छु,’ उनले भनिन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित भएर योजनावद्ध ढंगले अगाडि बढिरहेको बताएकी छन् ।
प्रमुख दाहालले आवश्यक रहेका विद्यालयहरूको पहिचान गरी कार्यान्वयन गरेकै कारण पछिल्ला वर्षहरूमा सार्वजनिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको रोजाइमा परिरहेको दावी गरिन् । उनले विद्यालय भवन निर्माण, मर्मत तथा कक्षा कोठाको स्तरवृद्धि, खेल मैदान निर्माण, पार्क तथा बगैँचा निर्माणका लागि शौचालय र शुद्ध पिउनेपानीको व्यवस्था लगायतमा विशेष चासो दिइराखेको उल्लेख गरेकी थिइन् ।
सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरपालिकाले गौरवका आयोजनाको रूपमा अगाडि सारेको सिटीहल, रिङरोड, लिङ्करोड, पुलचोक गोन्द्राङ ६ लेन सडक, व्यवस्थित साइकल लेनसहितको नमुना सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदी किनारलाई ‘सी बिच’ मोडलको नमुना पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको जानकारी दिइन् । विकास नगरवासीका लागि शुद्ध पिउने पानीको पहुँच पु¥याउन गरिएको पहल सामूहिक प्रयासले अगाडि बढिरहेको बताउँदै उक्त आयोजनाहरू तीव्र गतिमा काम भइरहेको जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले कुरा थोरै र काम धेरै गर्ने बानी रहेको भन्दै यस भवन निर्माण गर्न महानगर प्रमुख रेनु दाहाल र संघीय संसद कृष्णभक्त पोखरेलको ठूलो योगदान रहेको जानकारी दिए । उनले विद्यालयको भवन समयमै निर्माण सम्पन्न गरेर शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । अध्यक्ष काफ्लेले नगरप्रमुख रेनु दाहालको पहल र सक्रियतामा मध्य नेपालको नमुना सहरको रूपमा भरतपुर विकास भइरहेको बताउँदै विकासप्रेमी जनप्रतिनिधिलाई विकास र समृद्धि हासिल गर्नमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य भिमसेन देवकोटाले शिक्षक, अभिभावक, विद्यार्थी र सिंगो समाजको सामुहिक प्रयासले मात्र शिक्षा क्षेत्रले गुणात्मक फड्को मार्न सक्ने बताउँदै राज्यले शिक्षा क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उल्लेख गरे । उनले विद्यालयमा कक्षा कोठाको अभाव रहेको अवस्थामा संसद विकास कोष र भरतपुर महानगरपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गरेको प्रति धन्यवाद व्यक्त गर्दै समयमै भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे ।
नेपाली कांग्रेसका वडा सभापति काशीराम अधिकारीले विद्यालयको शैक्षिक र पूर्वाधारमा गुणात्मक सुधार गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । विक्रम सम्वत् २०२४ सालमा स्थापना भएको यस राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा कक्षा १ देखि १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा छात्र –छात्रा गरी ४०० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । संसद विकास कोष र भरतपुर महानगरपालिकाको लगानीमा ७० लाख रूपैयाँको लागतमा चार कोठे पक्की भवनको शिलन्यास भएको होे । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो ।
























