Breaking News

भरतपुर ४ को सरकारी विद्यालयः कक्षा कोठा नहुँदा भुईँमा बसेर पढ्छन विद्यार्थी

Banner

चितवन,फागुन २४-

चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ को एक सरकारी विद्यालयले कक्षा कोठा अभावमा विद्यार्थीहरुलाई भुईँमा राखेर पढाउन बाध्य भएको छ । विद्यालयमा अहिले दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तर नर्सरीमा पढ्ने बालबालिकाहरूलाई भुईँमा नै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धिरबहादुर थापाले बताए । ‘नर्सरीका विद्यार्थीहरुलाई चौरमा नै राखेर पढाएका छौं, कोठा नै पुग्दैन,’ प्रधानाध्यापक थापाले भने, ‘विहान सफा लुगा लगाएर आएका विद्यार्थीहरु घर पुग्दा धुलोमैलो भएर जान्छन् ।’

२०२४ सालमा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । भवनको छतबाट प्लाष्टर उप्किएको छ । कक्षा कोठाका भित्ता चिराचिरा परेका छन् । शिक्षक वा विद्यार्थी को–को घाइते हुनेहुन् भनेर सधैं मनमा त्रास भइरहन्छ,’ प्रअ थापाले भने ।

२०१९ सालमा स्थापना भएको यो विद्यालयमा हाल कक्षा सातसम्म पढाइ भइरहेको छ । विद्यालयमा ३ जनाको मात्रै सरकारी दरबन्दी छ । चार जना निजी स्रोतका शिक्षक छन् । आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलव दिन धौ–धौ छ ।

विद्यार्थीहरुसँग उठाउने सामान्य रकम, विभिन्न दाताहरूको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलव दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए । ‘शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौं, यसोभन्दा मलाई निकै दुःख लाग्छ,’ अध्यक्ष सापकोटाले भने ।

गत वर्ष भरतपुर महानगरपालिकाले दुई जनाको दरवन्दी विद्यार्थी कम भएको भनेर कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी संख्याको आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ । ‘कुनै सरकारी विद्यालयलाई भनेजति संरचना बनाउन पैसा, विद्यालय बस दिने काम महानगरबाट भएको छ, तर हामीलाई जीर्ण भवन बनाउने रकम कसैले दिएन,’ विद्यालयका अध्यक्ष सापकोटाले भने, ‘सायद हामीसँग राजनीतिक पहुँच भएन, हामीले दुखाउन, बिझाउन, धम्काउन सकेनौं होला ।’

सोही क्षेत्रका प्रदेश सांसद विजय सुवेदी महानगरभित्रका हरेक सरकारी विद्यालयको न्युनतम मापदण्ड पूरा गरेर मात्रै अन्यमा थप लगानी गर्नुपर्ने बताउँछन् । आवश्यक स्रोतको उचित विन्यास नगरी पहुँच र राजनीतिक आधारमा रकम दिँदा यस्ता बालबालिकाहरु भुईंमा बसेर पढ्न बाध्य भएको सांसद सुवेदीको भनाइ छ । राष्ट्रपति शैक्षिक पूर्वाधार कार्यक्रम अन्तर्गत विद्यालयका लागि दुई कोठे अस्थायी भवन बनाउन ६ लाख ५० हजार रकम विनियोजन गरिएको उनले सुनाए । सुवेदीले भने, ‘तत्कालका लागि केही गर्न सकियोस् भनेर राष्ट्रपति शैक्षिक पूर्वाधार कार्यक्रममा राखेर भवन बनाउन खोजेका छौं ।’ भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>