चितवन विशेष
चितवनमा फेसन मेला ‘ग्ल्याम अप नेपाल २०२१’ हुँदै, अनलाइन फारम खुल्ला

चितवन, फागुन २०
नेपाल डायरीजको आयोजनामा चितवनमा फेसन मेला ‘ग्ल्याम अप नेपाल २०२१’ हुने भएको छ । चैत्र २७ र २८ मेला आयोजना गर्न लागिएको आयोजकले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला आयोजना गर्न लागिएको नेपाल डायरीजका प्रबन्ध निर्देशक बिनेश थापाले बताए । चितवनमै यस किसिमको फेसन मेला पहिलो पटक आयोजना हुन लागेको थापाको दाबी छ । ब्युटिसियन, फेसन डिजाइनिङ तथा मोडलिङमा भविष्य बनाउन चाहनेहरुलाई लक्ष्ति गरी कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।
थापाका अनुसार मेलामा सौन्दर्य तथा फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षणदेखि फेसन शोसम्मका कार्यक्रम हुने छन् । विगतमा हुँदै आएको ‘ग्ल्याम अप नेपाल’ लाई यसपटक केही परिस्कृत रुपमा आयोजना गर्न लागिएको उनले बताए ।
भरतपुरको पर्व ब्यान्क्युटमा गर्न मेला आयोजन गर्न लागिएको हो । मेलामा सौन्दर्यसँग सम्बन्धित ३० वटाभन्दा बढी स्टलहरु रहने थापाले जनाए । स्टलहरुमा सौन्दर्य तथा सँस्कृति झल्किने सामाग्रीहरु राखिनेछ । यस्तै नेपालकै ख्यातीप्राप्त ब्युटिसियन तथा फेसन डिजाइनरहरुले प्रशिक्षण दिनेछन् । उक्त कार्यक्रममा ब्युटिसियन तथा फेसन डिजाइनरहरुलाई प्रशिक्षण दिइनेछ ।
मेलाको दुबै दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रशिक्षण कार्यक्रम हुनेछ भने साँझ ६ बजेदेखि १० बजेसम्म फेसन शोको रन वे सेशन हुनेछ । पेज ३ स्तरको शोमा ६५ भन्दा बढी मोडलहरु सहभागी हुनेछन् । जसमा युवा, युवती र बाल मोडलहरु रहने थापाले जानकारी दिए ।
सौन्दर्य सम्बन्धी प्रशिक्षणमा प्रत्यक्ष रुपमा ८ सयभन्दा बढी र फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रत्यक्ष रुपमा २ सय जनाको सहभागीता रहने थापाले बताए । करिब ६ हजार जनाले मेला अवलोकन गर्ने आंकलन गरिएको थापाले बताए । मेलाको अवलोकन निशुल्क गर्न सकिने छ । मेलामा नेपालका चर्चित ६ सेलिब्रेटीहरुको पनि सहभागीता रहने उनको भनाइ छ ।
थापाले फेसन शोमा सहभागीताका लागि अनलाइन फारम खुल्ला गरिएको जानकारी दिए । उनका अनुसार फारम भर्नेहरुको २२ गते शनिबार नारायणगढको शहिदचोकस्थित संगम मार्केटमा रहेको नेपाल डायरीजको कार्यालयमा अन्तर्वाता हुनेछ । छनौट भएका सहभागीहरुलाई कोरियोग्राफरले प्रशिक्षण दिनेछन् । उनिहरुले फेसन र सँस्कृति झल्कने एक सय वटा छुट्टछुट्टै सिक्वेन्स प्रस्तुत गर्नेछन् ।
























