चितवन विशेष
समता शिक्षा निकेतनमा लियोहरुले गरे वृक्षारोपण
चितवन, फागुन १७
लियो क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर चौतारीले समता शिक्षा निकेतन, भरतपुर २ आँपटारीको प्राङ्गणमा वृक्षारोपण गरेका छन् । आइतबार साँझ उनीहरुले विद्यालयमा पुगेर एक कार्यक्रमकाबीच आँप र जमुनाका बिरुवा रोपेका हुन् ।
वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २, नेपाल अन्तर्गतको एरिया ३ का प्रमुख पुरुषोत्तम सुवेदीले नेपाल र श्रीलंकलामा एकसाथ यस खाले कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिए । लियो मल्टिपल डिस्ट्रिक ३२५ नेपाल र लियो मल्टिपल डिस्ट्रिक ३६० श्रीलंकाका क्लवहरुले एकसाथ इन्टरनेशनल क्लब टुइनिङ् प्रोजेक्ट सञ्चालन गरिरहेका छन् ।
सुवेदीले बिरुवा रोप्नुलाईमात्र प्राथमिकतामा नराखी त्यसको संरक्षण र हेरचाहमा पनि विशेष ध्यान दिन आग्रह गरेका थिए । लियो क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर चौतारी निकै सक्रियताका साथ समाजिक कार्यमा लागिरहेको बताउँदै उनले दुबै क्लवको प्रसंशा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक नविन पराजुलीले लियोका भाइबहिनीहरु आएर विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
लियो क्लव अफ भरतपुर चौतारीकी अध्यक्ष सविना लम्सालले २० वटा बिरुवा लगाइएको जानकारी दिइन् । उनले बिरुवा रोपिसकेपश्चात संरक्षण र हेरचाहमा पनि ध्यान दिने बताएकी छिन् ।
वृक्षारोपण कार्यक्रममा लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २, नेपालका एजुकेशन प्रोग्राम चिफ सुशिल पौडेल र लियो क्लव अफ काठमाडौं मातृभूमिका अध्यक्ष दिवश सुवेदीलगायतको उपस्थिति रहेको थियो ।



























